एमालेका विद्यार्थीले भर्ना शुल्क घटाउन स्थानीय तहमा अनुगमन संयन्त्र खटाउने
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंलगायत मुलुकभरका निजी विद्यालयले कक्षा ११ को भर्नामा मनपरी शुल्क उठाएको आरोप लगाएको छ ।
आज विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले आफ्नो कार्यक्षेत्रभित्र पर्ने माध्यमिक विद्यालयको शुल्क निर्धारण र छात्रवृत्ति वितरणमा स्थानीय सरकारहरुले पर्याप्त पहलकदमी नलिदाँ अभिभावकहरु ‘शैक्षिक लुट’ को शिकार भइरहेको बताएको हो । अध्यक्ष समिक बडालले निजी विद्यालयहरुले विद्यार्थीसँग विभिन्न बहानामा शुल्क उठाउनेलगायतका गैरकानूनी र अराजक गतिविधिप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले विगतमा शैक्षिक बेथिति अन्त्यको लागि अनेरास्ववियुले पटक पटक निर्णायक संघर्ष गरेको स्मरण गराउँदै अहिले देखिएको शैक्षिक लुटको विरुद्ध गम्भिर कदम चाल्न संघीय सरकार तथा स्थानीय सरकारसमक्ष माग गरेका छन् ।
‘विगतमा अनेरास्ववियुले शैक्षिक बेथिति अन्त्यको लागि पटक पटक निर्णायक संघर्ष गरेको स्मरण गराउँदै अहिले देखिएको शैक्षिक लुटको विरुद्ध गम्भिर कदम चाल्न, निजी शैक्षिक संस्थाले लिन पाउने अधिकतम शुल्कको सिमा तोक्न, छात्रवृत्तिलाई पारदर्शी बनाउँदै कम्तीमा २० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्तिको व्यवस्था गर्न, छात्रवृत्ति छनोट निष्पक्ष गर्न अनेरास्ववियु नेपाल सरकार तथा सबै स्थानीय सरकार प्रमुखहरुसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
अन्यथा, विद्यार्थीको अधिकारप्रति सचेत, प्रगतिशील र जुझारु संगठन हुनुको हिसाबले यी तमाम बेथितिको विरुद्ध अनेरास्ववियु निर्णायक आन्दोलनमा उत्र्रिने र काठमाडौं महानगरपालिकालगायत मुलुकभरका पालिकामा अनुगमन संयन्त्र परिचालन गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू