आन्दोलित पत्रकारहरुको तर्फबाट कान्तिपुरका मालिकलाई ऐना उपहार
कान्तिपुर मिडिया ग्रुपविरुद्ध लामो समयदेखि संघर्षरत श्रमजीवी पत्रकार संघले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
कान्तिपुरले कर्मचारी कटौतीका नाममा गैरकानुनी ढंगले श्रमजीवी पत्रकारहरुलाई कामबाट निकालेको भन्दै चरणबद्ध आन्दोलनमा रहेको संघले आज विज्ञप्ति जारी गर्दै थप संघर्षका कार्यक्रम अघि सारेको हो । पटक–पटक माग सम्बोधनका लागि गरिएको प्रयासमा कान्तिपुरका मालिक सहमत नभएपछि बाध्य भएर अर्को चरणको आन्दोलनमा जानुपरेको विज्ञप्तिमा उल्लेख छ ।
घोषित कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहियाको घर घेराउदेखि उनी र उनका छोरा सम्भवलाई सांकेतिक विरोधस्वरूप ऐना उपहार दिनेसम्मका छन् । संघका अध्यक्ष जन्मदेव जैसीले आगामी शनिबार काठमाडौँ महानगरपालिका–४ स्थित धुम्बाराही पिपलबोट नजिकै रहेको शिरोहिया निवासमा प्लेकार्ड प्रदर्शन गर्दै धर्ना दिने कार्यक्रम तय गरिएको जानकारी दिए ।
त्यस्तै, साउन ८ गते मण्डिखाटारस्थित निवासमा पुगेर सांकेतिक विरोधस्वरूप शिरोहियाका बाबुछोरालाई ऐना उपहार दिने कार्यक्रम छ । ’श्रमजीवीको श्रम लुट्ने अनुहार हेर’ भन्दै ऐना उपहार दिन लागिएको अध्यक्ष जैसीले बताए ।
टिप्पणीहरू