एकीकृत समाजवादीले भोलि पनि बैठक गर्ने
शुक्रबारदेखि शुरु भएको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार एक दिन बसेर सोमबारसम्मका लागि स्थगित गरिएको बैठक भोलि पुनः बस्नेगरी आज सकिएको हो ।
अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले भोलि बिहान ९ बजे पुनः बस्ने गरी स्थगित गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित छ । आज सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा. विजय पौडेल र डा गंगालाल तुलाधरले आ–आफ्नो धारणा राखेका थिए ।
पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदहरूमा कसलाई मनोनीत गर्ने भन्ने विषयमा भोलि छलफल गरिने जनाइएको छ ।
टिप्पणीहरू