कमाउन विदेशिएका नेपाली मजदुर पहिरोमा पुरिए, एकै परिवारका तीन जना बिते
रोजगारीमा भारत गएका रुकुम पश्चिमका चार जनाको पहिरोमा परेर मृत्यु भएको छ । दुई फरक स्थानमा गएको पहिरोमा परेर एकै परिवारका तीन जनासहित चार जनाको ज्यान गएको बताइएको छ ।
भारतको हिमाञ्चल प्रदेशको सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ टुनिबोटका एउटै घरका तीन जनाको मृत्यु भएको हो । आइतबार भारतको रोहुडुमा गएको पहिरोमा परेर चौरजहारी नगरपालिका–७ का एक जनाको मृत्यु भएको हो ।
त्रिवेणी गाउँपालिका ९ का वडाध्यक्ष हरिबहादुर खड्काका अनुसार सोमबारको पहिरोमा आफ्नो वडाका ४८ वर्षे देवबहादुर ओली, उहाँकी ५० वर्षीया श्रीमती भीमा ओली र १७ वर्षे कान्छो छोरा मोहन ओलीको ज्यान गएको छ । ती सबै मजदुरीका लागि भारत गएका थिए ।
क्यारामा भएको अविरल वर्षापछि आएको पहिरोले उनीहरु डेरामा बसेको घर पुरेको बताइन्छ । बिहानको काम सकेर डेरामा खाना खान आएको समयमा पहिरो गएको थियो । वडाध्यक्ष खड्काका अनुसार आमा भीमा र छोराहरु लोकेन्द्र र मोहन असार पहिलो हप्ता मात्रै त्यहाँ पुगेका थिए । देवबहादुर भने गत मंसिरमा भारत गएका थिए । जेठो छोरा लोकेन्द्र कामको सिलसिलामा फरक स्थानमा रहेकाले ज्यान जोगिएको हो ।
आइतबार हिमाञ्चल प्रदेशको रोहुडुमा गएको पहिरोमा परेर चौरजहारी नगरपालिका ७ का ३९ वर्षीय प्रेमप्रसाद जैसीको मृत्यु भएको छ । कोठामा बसिरहेको बेलामा आएको पहिरोले पुरिँदा उनको मृत्यु भएको हो ।
चौरजहारी नगरपालिकाका प्रवक्ता खुमबहादुर खड्काका अनुसार उनी एक हप्ता अघिमात्र घरबाट भारत पुगेका थिए । यता घरमा श्रीमतीसँगै एक छोरा र एक छोरी छन् । मृतक जैसी चौरजहारी नगरपालिका ७ का वडा अध्यक्ष भीमप्रसाद जैसीका भाइ हुन् ।
टिप्पणीहरू