एमालेमा सदस्य घट्दा काँग्रेसद्वारा सात लाख बढाउने उद्घोष
वैकल्पिक पार्टीहरुको उदयले पुराना दलहरुमाथि चुनौती बढेको टिप्पणी भइरहेका बेला सत्तारुढ नेपाली काँग्रेसले सदस्यता विस्तारलाई व्यापक बनाउने भएको छ ।
आजदेखि शुरु भएको कन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगन थापाले संगठन विस्तारलाई तीब्रता दिँदै २०८० सालभित्र कम्तीमा पाँच लाखलाई काँग्रेसको सदस्य बनाउने प्रस्ताव पेश गरेका हुन् । पहिलोपटक फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरिएको बैठकमा उनले ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने प्रस्ताव गरेका थिए ।
यहि साउन २० गतेदेखि आगामी असारसम्म चल्ने उक्त अभियानमार्फत संगठन विस्तार र सुदृढीकरण गर्दै सदस्य संख्या थप्ने योजना अघि सारिएको छ । नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध गराउँदै कम्तीमा पाँचदेखि सात लाख पार्टी सदस्य थप्ने उद्देश्यसाथ अभियान थाल्न केन्द्रीय समिति बैठकले महामन्त्री थापाले उक्त प्रस्ताव अघि सारेको जानकारी दिए ।
१४ औँ महाधिवेशनको तथ्याङ्कअनुसार काँग्रेसमा हाल क्रियाशील सदस्य साढे आठ लाख हाराहारी छ । महामन्त्री थापाको यो प्रस्ताव बैठकले पास गरे, उक्त योजना सफल भए एक वर्षभित्र सो संख्या १४ लाख पुग्नेछ ।
मुलुककै जेठो पार्टी काँग्रेसले सदस्य संख्या बढाउने महत्वाकांक्षी योजना अघि सारिरहँदा अर्को पुरानो शक्ति एमालेमा भने सदस्यता नवीकरण अनपेक्षितरुपमा घटेको बताइएको छ । नवीकरणको मिति सकिन १५ दिन बाँकी हुँदा देशभरबाट ५० प्रतिशतको हाराहारीमा मात्रै सदस्यता नवीकरण भएको सो पार्टीका नेताहरुले बताएका छन् ।
दुई वर्षअघि सम्पन्न १० औँ महाधिवेशनमा एमालेले संगठित सदस्य संख्या साढे आठ लाख रहेको दाबी गरेको थियो । सोही संख्यालाई बढाएर १५ लाख पुर्याउने योजनासहित आक्रामक संगठन विस्तारमा लागेको एमालेको ‘मिसन ग्रासरुट’ अभियानसम्म आइपुग्दा सांगठनिक स्थिति निराशाजनक देखिएको हो ।
सदस्यता नवीकरण नगरेका एमालेका अधिकांश कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको अनुमानसमेत गरिएको छ ।
टिप्पणीहरू