किस्ता रकमको निहुँमा पहिले भनाभन, पछि कुटाकुट
रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको महालक्ष्मी विकास बैंकको शाखा कार्यालयका कर्मचारीले व्यापार सञ्चालन गर्दै आएका बाबुछोरामाथि गम्भीर घाइते हुनेगरी कुटेका छन् । किस्ता माग गर्दै बैंकका कर्मचारीले तरकारी व्यापारी मोहनप्रसाद गुप्ता र उनका छोरा दिपक गुप्तामाथि कुटपिट गरिएको बताइएको छ ।
वडा नम्बर ४ मा तरकारी पसल थापेका उनले तीन वर्षका लागि भनेर उक्त बैंकबाट ३० लाख रुपैयाँ कर्जा लिएका थिए । समयमै किस्ता बुझाउँदै आएका उनको घरमा एकाएक बैंकका कर्मचारी पुगेका हुन् । घरमा रहेका परिवारका सदस्यसँग झगडा गरेर पसलमा आएका बैंकका म्यानेजर आकाश चौधरीले आफूसँग पनि झगडा गरेको गुप्ताको भनाइ छ ।
‘मैलें आफूसँग भारतीय नोट भएको र त्यो सटही गरेर ल्याएर दिन्छु भनेको थिएँ । पहिले उनले भारु भएपनि हुन्छ भने । मैले दिएँ । फेरि सटही गर्न दुई हजार रुपैयाँ लाग्छ, थप्नु भन्यो । त्यही निहुँमा विवाद भयो । उनले नोट नै नक्कली भएको भन्दै तथानाम गाली गरे’, उनले भने ।
उनका अनुसार चौधरीसँगै अन्य दुई जना आएका थिए । म्यानेजर चौधरीले हेल्मेटले हातमा हिर्काएको उनको आरोप छ । यता, छोरा दिपकको टाउकोमा गम्भीर चोट लागेको उनले बताए । प्रहरीमा उजुरी गर्दासमेत हालसम्म पनि कारबाही नगरिएको उनको गुनासो छ ।
गुप्ता भन्छन्, ‘बैंकबाट ऋण लिएका छौं, तिर्नुपर्छ भन्ने हामीलाई पनि थाहा छ । अहिले व्यापार कम छ । किस्ता तिर्न रकमको जोहो गर्नुपर्छ । यस्तो अवस्थामा घरमै आएर कुटपिट गर्नु ठीक हो ? मैले किस्ता नतिरेको भएपनि कानुनी प्रक्रियाअनुसार अघि बढ्नुपर्थ्यो । मैले इलाका प्रहरी कार्यालयमा उजुरी दिएको छु । तर, अहिलेसम्म कुनै कारबाहीको प्रक्रिया अघि बढेको छैन । घरमै आएर गुण्डागर्दी देखाउने बैंकका कर्मचारीलाई कारबाही हुनुपर्छ ।’
यता, म्यानेजर चौधरीले गुप्ताको परिवारले पहिले हात उठाएको दाबी गरेका छन् । किस्ता माग गर्दा भनाभन भएपछि कुटपिट गरिएको स्वीकार्दै उनले भने, ‘पहिले उनको परिवारले हिर्कायो । त्यसपछि हामीले ।’
टिप्पणीहरू