मान्छे मारेर भागेका थसाङका शेरचन आठ वर्षपछि पक्राउ

मान्छे मारेर भागेका थसाङका शेरचन आठ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी सम्राट शेरचन पक्राउ परेका छन् । मुस्ताङको थसाङ गाउँपालिका वडा नम्बर–२ घर भई काठमाडौंको जोरपाटी बस्ने ४६ वर्षीय उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

१४ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका उनलाई हिजो गोकर्णेश्वर नगरपालिका वडा नम्बर–८, अत्तरखेलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

शेरचनविरुद्ध राधा पुनले २०६६ सालमा कर्तव्य ज्यान मुद्दा दायर गरेकी थिइन् । मुस्ताङ जिल्ला अदालतले २०६७ माघ २७ गते उनलाई एक वर्ष चार महिना कैद सजाय सुनाएको थियो । उक्त फैसला चित्त नबुझेको भन्दै उनले पुनरावेदन अदालत, बाग्लुङमा पुनरावेदन गरेका थिए । 

पुनरावेदन अदालतले जिल्लाको फैसलालाई उल्टी गरेर २०६८ मंसिर ७ गते जन्मकैदको सजाय सुनाएको थियो । त्यसपछि सर्वोच्च अदालत पुगेका उनको सजाय १४ वर्षमा झारिएको हो । 

२०७२ भदौ १ गते सर्वोच्चबाट आदेश भएपछि फरार भएका उनलाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू