तीन वटा ट्रकमा भन्सार छलिएको कस्मेटिक सामान, वीरगञ्जबाट फुत्काइएको ट्रक धादिङमा च्याप्पै
धादिङ्गको गजुरी गाउँपालिका ६ स्थित आदमघाट बजारबाट हिजो कस्मेटिक समान बोकेका तीन वटा ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाट र राजश्व अनुसन्धान कार्यालय सुरक्षा बेस हरिहर भवनबाट खटिएको टोलीले वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५८०४, ना. ५ ख ५८०५, ना. ६ ख ८५८८ नम्बरको ट्रकमा जाँच गर्दा भन्सार छलिएको कस्मेटिक सामानसहित नियन्त्रणमा लिएको बताइएको छ ।
ती ट्रक र सामानलाई आवश्यक अनुसन्धानको निम्ति राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।
यस्तै सशस्त्रले मुलुकका विभिन्न भागमा बिलविजकमा उल्लेख गरिएको भन्दा बढी सामान हालिएको सवारी साधनलाई नियन्त्रणमा लिएको छ । धरान उपमहानगरपालिका १३ स्थित शिवधारा इलाकाबाट अस्ति १२ लाख २२ हजार ३ सय १३ रुपैयाँ बराबरको मोटर पार्टस्सहित एउटा सुमो नियन्त्रणमा लिएको जनाइएको छ ।
धरानबाट धनकुटातर्फ जाँदै गरेको ना.१ ज ६२९२ नम्बरको सुमोमा सुरक्षा बेस धरानबाट खटिएको टोलीले आधिकारिक बिल नभएको र बिलबिजकमा उल्लेखितभन्दा धेरै सामान पाइएपछि नियन्त्रणमा लिएको बताइएको छ । निन्त्रणमा लिइएको गाडी र सामान आवश्यक कारवाहीको निम्ति राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।
सशस्त्रले पूर्वी नवलपरासीको विनय त्रिवेणी नगरपालिका ७ स्थित ब्यारेज पुल इलाकाबाट सशस्त्रले अस्ति लागुऔषधसहित दुई जनालाईनियन्त्रणमा लिएको जनाएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ बस्ने ३८ वर्षे प्रकाश दमाइ र २० वर्षे तीर्थ हरिचनलाई बिओपी त्रिवेणीले नियन्त्रणमा लिएको थियो ।
उनीहरु बा.३४ प ६५३४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका थिए । चेकजाँच गर्दा प्रोक्सीस्पास ५६ वटा र नाइट्रोभेट ट्याब्लेट तीन वटा फेला परेको बताइएको छ ।
उता, रौतहटको माधवनारायण नगरपालिका ६, माधोपुर र बौधिमाई नगरपालिका ९, हनुमान चोकबाट हिजो १ लाख ७ हजार ४ सय ६० रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान नम्बर ११ गण रौतहटले बरामद गरेको हो । बरामद सामान गौर भन्सार कार्यालयमा बुझाइएको छ ।
टिप्पणीहरू