उपत्यकाका दुई जिल्लामा भोलि आठ घण्टा बत्ती जाने

उपत्यकाका दुई जिल्लामा भोलि आठ घण्टा बत्ती जाने

भोलि काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा दिनभरी विद्युत आपूर्ति बन्द गरिने भएको छ । नेपाली विद्युत प्राधिकरणले बिहान साढे ८ बजेदेखि दिँउसो साढे ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी गराएको हो । 

प्राधिकरणको लप्सीफेदी तथा चाँगुनारायण सबस्टेशन निर्माण आयोजनाले आज सूचना जारी गर्दै टेकू सबस्टेशन स्तरोन्नतिको काम भइरहेकाले विद्युत आपूर्ति बन्द गर्न लागेको जानकारी दिएको छ । प्रथम चरणको सबस्टेशन निर्माण कार्य सम्पन्न गर्न ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले भोलि दिनभर विद्युत सेवा प्रभावित हुने आयोजनाको भनाइ छ । 

‘प्रथम चरणको सबस्टेशन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेशनको विद्यमान इनकमर–१ प्यानल तथा दुईवटामध्ये एकवटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेशनबाट आपूर्ति भइरहेको फिडरहरुमा विद्युत सेवा प्रभावित हुने व्यहोरा सम्पूर्ण महानुभावहरुलाई जानकारीका लागि अनुरोध छ’, सूचनामा उल्लेख छ । 

आयोजनाका अनुसार बागमती फिडरअन्तर्गत सानेपा राम मन्दिर, गुसिलाल, एडभान्स कलेज, अमरावती सानेपा मोड, रेडिएण्ड स्कुल क्षेत्रको विद्युत आपूर्ति बन्द गरिनेछ । त्यस्तै, पुल्चोक फिडरको बल्खु हेल्थपोस्ट, झम्सिखेल, प्रधानसेनापति निवास, ठाडोढुङ्गा, चमती फिडरको ज्ञानतीर्थ मार्ग, कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भु, चमती, किमडोल, बारुद खानामा बिजुली बन्द रहनेछ ।  

कीर्तिपुर फिडरअन्तर्गत बल्खु, खसीबजार, त्रिभुवन विश्वविद्यालय, चोभार, टौदह र ट्याङ्लाफाँटका केही भाग, त्रिपुरेश्वर फिडरअन्तर्गत टेकुदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी बस्ती, वर्ल्ड ट्रेड सेन्टरका एरियामा भोलि दिनभर बत्ती बन्द हुने आयोजनाले जनाएको छ । 

अन्य बत्ती जाने स्थानमा थापाथली स्विचिङअन्तर्गत त्रिपुरेश्वर चोक, आशा अस्पताल, रंगशाला, नर्भिक अस्पताल, प्रसुति गृह हुँदै बबरमहल, सानेपा, कुपण्डोलको हिमालयन होटल, स्थानीय विकास मन्त्रालय, पुल्चोक क्याम्पस, भैँसेंपाटी फिडरअन्तर्गत महतो मार्ग, भैँसेंपाटी आवास, भैँसेंपाटी चोक, एकल डाँडा, छेत्रपाटी फिडरअन्तर्गत टेकूदेखि विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क, ढल्कु चोकदेखि छेत्रपाटी रहेका छन् ।

 

टिप्पणीहरू