अन्तर्राष्ट्रिय विमानस्थलमा एक छिनअगाडि के भयो,अब के हुँदैछ ?

अन्तर्राष्ट्रिय विमानस्थलमा एक छिनअगाडि के भयो,अब के हुँदैछ ?

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको चेकिङ छलेर विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको घटना राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएकाले सरकार गम्भीर भएको बताउनुभएको छ । आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षणका क्रममा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । 

नेपाल प्रहरीका आइजीपी बसन्त कुँवर,उपत्यका हेर्ने एआइजी श्याम ज्ञवाली,विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीलगायतलाई लिएर बिहान साढे १० बजे विमानस्थल पुग्नुभएका गृहमन्त्री श्रेष्ठले विशिष्ठ कक्षबाट आगमन र प्रस्थान दुबैतर्फका लगेज कलेक्सन,भन्सार कार्यालय हुँदै भित्री बाटोबाट आयल निगमको डिपो पुगी कार्गो कम्प्लेक्ससम्मको निरीक्षण गर्नुभएको थियो । झण्डै एक घण्टाको निरीक्षणपछि तीनकुनेस्थित भन्सार कार्यालयको बैठक कक्षमा भएको छलफलमा उहाँले सुरक्षा निकायसँगै भन्सार कार्यालयको कामप्रति पनि असन्तुष्टी जनाउनुभयो । 

सो क्रममा गृहमन्त्री श्रेष्ठले मुलुकको प्रतिष्ठासँग जोडिएको विमानस्थलको सुरक्षा संवेदनशीलता ख्याल गर्दै जिम्मेवार भएर काम गर्न त्यहाँ कार्यरत कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । यति ठूलो मात्रामा सुन बाहिरिएको घटनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकै गम्भीर भएको जानकारी दिँदै उहाँले यस्ता घटना पुन: दोहोरिए राम्रो नहुने चेतावनीसमेत दिनुभयो । 

घटनाको गहिरो अनुसन्धान गरी तस्करीको मूल जरोसम्म पुगेर दोषीलाई कडा कारवाही गर्ने पनि बताउनुभएका गृहमन्त्री श्रेष्ठले यसबाट हतोत्साहित नभई आत्मसमीक्षा गरेर अघि बढ्न सबैलाई आग्रह गर्नुभएको छ । त्यसक्रममा उहाँले विमानस्थलको आगमनतर्फको चेकिङ विन्दुमा पनि प्रहरी खटाउने तयारी गरिएको जानकारी दिनुभयो । 

गृहमन्त्री श्रेष्ठलाई भन्सार पध्दतिको बारेमा उपसचिव तथा प्रमुख भन्सार अधिकृत नारद गौतमले बृफिङ गरेका थिए ।

मंगलबार राति हङकङबाट ल्याइएको कार्गोमा मोटरसाइकल र स्कुटरको ब्रेस शू भनिएका ३२० थानभित्र सुन लुकाइएको तथ्य सामान भन्सारबाट बाहिरिएपछि खुलेको थियो । सुन भनिएको ब्रेक सुलाई हिजो दिउँसोदेखि नेपाल राष्ट्र बैंक टक्सार महाशाखाको ढुकुटीमा राखिएको छ ।

टिप्पणीहरू