युद्ध युद्ध नै हुन्छ

युद्ध युद्ध नै हुन्छ

युद्ध युद्ध नै हो
युद्धको विभीषिका मनभित्र मडारिएपछि
आकाश पनि साँघुरो हुन्छ 
पीडा र व्यथा पनि
प्रेरणा हुन्छ
न रात हुन्छ
न दिन हुन्छ
समयका सीमारेखा र बाँधहरु भत्कन्छन्

युद्धमा केवल युद्ध नै हुन्छ
विवेक र आवेगको सम्मिश्रण हुन्छ
त्यसैले नहेप
सानो र होचो देखेर
जब
युद्धको झिल्का ज्वालामुखी बन्छ
अनि
शक्ति र सत्ताका उन्मादहरु
पानीका थोपा हुन्छन्
जितहरु हार हुन्छन्
र हारहरु पनि जित हुन्छन्
नहोमिनु होमिन बाध्य भएपछि
आर्तनादहरु पनि बाढी हुन्छन्
रोदनहरु पनि सिंहनाद गर्छन्
सायद त्यो
मानवीय संवेदना र संघर्षको उत्कर्ष हो
अग्ला पहाडहरु पनि धस्किन्छन्
गहिराइबाट ज्वालामुखी उठ्छन्
हो साँच्चै 
मान्छेहरु भन्छन् नि 
बगेको पानी र आँसु फर्कन्न

छातीबाट छुटेका रगतका धाराहरु
भुइँमै लतपत हुन्छन्
तर होइन, यो मात्र सत्य होइन
आजै म उद्घोष गर्छु
चट्टानहरुले सुनुन्
सत्ताका उन्माद र चाटुकारहरुले सुनुन्
आँखाबाट खसेका आँसुहरु 
ज्वाला बनेर उठ्दछन्
छातीबाट छुटेका रगतका धाराहरु
आँधी बनेर विद्रोह गर्नेछन्
सयौं सुनामी भन्दा बेजोडको आँधी
हो, निरीहका क्रन्दनहरुलाई
जब जालझेल र
छक्कापन्जा गरेर छोपिन्छ नि
तब युद्ध युद्ध नै हुन्छ
परिभाषाले नसमेट्ने
शक्ति र सत्ताले नदेख्ने
तरबारका धारहरु र बन्दुकका नालहरुले नछेक्ने
जहाँ आकाश पनि साँघुरो हुन्छन्
त्यसैले
निरीहका सपनाहरुलाई कुल्चेर
अग्लो हुने कोसिस नगर
बारुद र बन्दुकको नालले लड्ने युद्धभन्दा पनि 
मन/मस्तिष्कको विद्रोहले लड्ने युद्ध
भयानक हुन्छ
जसले
सपनाहरु पनि बोकेको हुन्छ
सिर्जनाहरु पनि रोपेको हुन्छ
तर खोलाको बहावलाई 
पहिरोले छेक्यो भने 
पहाडहरु पनि भत्कन्छन्
त्यसैले
निरीह यात्राहरुलाई 
नरोक/नटोक
नत्र आँसुको ज्वालाले 
तिमीहरुको ऐश, आराम र महलहरु पनि
चकनाचुर हुने छन् ।

टिप्पणीहरू