कान्तिपुरको श्रमिक लफडा पेचिलो बन्दै, प्रकाशन सबै मुख्यालयमा थन्कियो

कान्तिपुरको श्रमिक लफडा पेचिलो बन्दै, प्रकाशन सबै मुख्यालयमा थन्कियो

कान्तिपुर गु्रपको श्रमिक समस्या दिनहुँ जटिल बन्दै गएको छ । श्रमजीवी पत्रकारहरुले व्यवस्थापन पक्षले आफ्ना माग पूरा नगरेपछि पत्रिका वितरणमा रोक लगाएका छन् । हिजो बिहानदेखि काठमाडौं उपत्यकाका कुनै पनि ग्राहकको घर, कार्यालयमा कान्तिपुर प्रकाशन गृहका कुनै पनि पत्रिका पुर्याइएको छैन । 

श्रमजीवीहरुले कान्तिपुर वितरणमा रोक लगाएपछि सबै पत्रिका मुख्यालयमा थन्किएको बताइन्छ । श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले सामाजिक सञ्जालमा कान्तिपुर नपढेर कोही पनि सूचनाबाट वञ्चित नहुने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘श्रमजीवीले भोको पेट कसरी बाँड्ने ? पेटभरि खाएपछि मात्र खबर जान्न मन लाग्छ । यो कान्तिपुर नपढेर कोही सूचनाबाट वञ्चित हुँदैन । सूचना÷खबर त व्यापारिक कोणबाट बनाइन्छ १ जनताका पक्षका समाचार लेख्ने हजारौं साना मिडिया छन् ।’

यता, कान्तिपुरका प्रकाशन वितरणमा अवरोध पुगेपछि पत्रकार महासंघ नेपालका पूर्व अध्यक्ष तारानाथ दाहाल र वर्तमान अध्यक्ष विपुल पोखरेलले व्यक्त गरेको धारणाको पनि आन्दोलनकारी र अन्य पक्षले चर्को आलोचना गरेका छन् । उनीहरुले मिडिया साहुहरुको पक्षमा धारणा राखेको भन्दै सामाजिक सञ्जालमा लेखिएको छ, ‘पत्रकार महासंघ तिम्रा बाबुको बिर्ता हो ? अनि सूचना साहु–ठेकेदारहरुको ठेक्का ? सूचना त श्रमिक जनताको पक्षमा पनि हुनुुपर्छ, अनि महासंघ श्रमजीवी पत्रकारको हो, साहुको हैन ।’

दाहालले कान्तिपुरसँगको कुराकानीमा मिडिया उद्योग धराशायी भए त्यसले पार्ने क्षति लोकतन्त्र र आम श्रमिकलाई नै बढी हुने उल्लेख गरेका छन् । त्यसैगरी पोखरेलले सूचना प्रवाहमा पनि कुनै हिसाबले रोक लगाउन हुँदैन, सूचना प्राप्त गर्ने नागरिक अधिकार सुरक्षित हुनुपर्ने धारणा राखेपछि श्रमजीवीहरुले उक्त प्रतिक्रिया जनाएका हुन् ।

टिप्पणीहरू