महिलाको घोर अपमान गर्ने सरकारी कर्मचारीको चौतर्फी आलोचना

महिलाको घोर अपमान गर्ने सरकारी कर्मचारीको चौतर्फी आलोचना

सरकारी सेवामा कार्यरत एक जना अधिकृतले महिलाहरुबारे आपत्तिजनक प्रश्नोत्तर राखेर लोकसेवाको तयारीसम्बन्धी पुस्तक छापेको पाइएको छ । समग्र महिलामाथि आक्षेप लाग्ने शब्द प्रयोगसहित पुस्तक प्रकाशन गरेपछि यतिबेला सामाजिक सञ्जालमा चर्को विरोध भैरहेको छ । 

वन तथा वातावरण मन्त्रालयका सहायक संरक्षण अधिकृत रामएकवाल दासले लोकसेवा तयारीका निम्ति लेखेको ‘नेपाल वन सेवा दिग्दर्शन गेमस्काउट,वनरक्षक सफलताको साथी’ नामक पुस्तकमा एकदमै अपमानजनक प्रश्नोत्तर राखिएको छ । पेज नम्बर १४३ को प्रश्न नम्बर १८ मा सोधिएको छ,‘केटीलाई भालु किन भनिएको होला ?’

चार वटा ‘अप्सन’ मा उत्तर लेखिएको छ । पहिलो नम्बरमा पोथी भालुजस्तै व्यवहार भएर भन्ने उत्तर दिइएको छ । दोस्रोमा पोथी भालुले एकपल्टमा धेरै भालेसंग संसर्ग गर्ने भएर,तेस्रोमा पोथी भालु बहुपति गामी हुन्छ र चौथो नम्बरमा माथिको सबै अप्सन दिइएको छ । 

उत्तरदाताले तीमध्ये एउटा उत्तर छनोट गर्नुपर्ने भनिएको छ । दरिद्र मानसिकता बोकेको व्यक्तिले किताब लेखेको भन्दै सामाजिक सञ्जालमा लेखक दासमाथि गालीको वर्षात शुरु भएको छ । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘कस्ता लेखक हुन् ? कस्ता प्रकाशक हुन् ? कस्ता सम्पादक हुन् ? के ठानेर यस्तो लेख्दा हुन् । अत्यन्त भर्त्सनायोग्य कृत्य ।’

अर्कोले भनेका छन्,‘वन्यजन्तुसम्बन्धी पढेको रे,मान्छे पनि जन्तु नै रहेछ ।’ काठमाडौंको कलँकीस्थित विद्या विकास पब्लिकेशन प्रालिले प्रकाशन गरेको पुस्तक प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ ।  

यता, पब्लिकेशनले उक्त पुस्तक नबेच्न सबै पुस्तक पसललाई जानकारी गराइसकेको बताएको छ । किताबमा त्रुटि भेटिएपछि बजारबाट फिर्ता गर्न लागिएको पब्लिकेशनकी एक कर्मचारीले बताइन् । 

ती कर्मचारीका अनुसार पब्लिकेशनले उक्त किताब छाप्ने अधिकारको मात्र जिम्मा लिनेछ । ‘किताबभित्र छाप अधिकार मात्रै भनेर स्पष्टै लेखिएको छ । उहाँले नै सबै टाइप गरेर पठाउनुभएको हो । उहाँले सबै तयार छ, छाप्नु भनेपछि हामीले छापेका हौं । अहिलेलाई सबै बुक पसललाई उक्त किताबमा त्रुटि भेटिएकाले नबेच्नु भनेर आग्रह गरिसकेका छौं’, उनले भनिन् । 

पढाइ डिग्री,काम घटिया

लेखक दासले त्रिभुवन विश्वविद्यालयबाट वन्यजन्तु व्यवस्थापन तथा जैविक विविधता संरक्षण विषयमा स्नातकोत्तर गरेका छन् । त्यस्तै,उनले ग्रामीण विकासमा समेत स्नातकोत्तरको डिग्री हासिल गरेका छन् । 

उनले जिल्ला भू–संरक्षण कार्यालय,महोत्तरी, सिन्धुली, दोलखालगायतका जिल्लामा काम गरिसकेका छन् । उनले राष्ट्रिय निकुञ्ज कार्यालय,पर्सा,आरक्ष संरक्षण क्षेत्र कार्यालय, बर्दिया,पर्सा, खप्तड, सगरमाथा, गौरीशंकर, लामटाड, मकालु वरुण हुँदै हाल वन तथा वातावरण मन्त्रालयमा सहायक संरक्षण अधिकृतको भूमिका निर्वाह गरिरहेका छन् ।  

सरकारी स्तरमा २५ वर्ष जागिर खाइसकेको व्यक्तिको महिलालाई हेर्ने दृष्टिकोणमा अझैपनि परिवर्तन नआउनु लाजमर्दो कुरा हो । दासको सोचले उनको शैक्षिक योग्यतामा समेत गम्भीर प्रश्न खडा गरेको छ ।  एक्काइशौं शताब्दीमा आइसक्दा पनि पुरुषको मानसिकता बदलिन सकेको छैन भन्ने कुरा यहाँबाट प्रष्टै हुन्छ । महिला हकहितका लागि दिनहुँ आवाज उठिरहँदा सरकारी सेवामा रहेका कर्मचारीबाट यस्तो घटिया काम हुनु आफैंमा लज्जास्पद छ ।

टिप्पणीहरू