नयाँ दिल्लीका सबै पाँचतारे होटल एक महिनाअघि ‘बुक्ड’

नयाँ दिल्लीका सबै पाँचतारे होटल एक महिनाअघि ‘बुक्ड’

आगामी सेप्टेम्बर अर्थात भदौ तेस्रो साता भारतको राजधानी नयाँ दिल्ली जाने र पाँचतारे होटलमा बस्न खोज्ने विश्वका जोसुकैले कम्तीमा १० दिनको निम्ति आफ्नो भ्रमण स्थगित गर्नुपर्ने भएको छ । भारत सरकारको निर्देशनमा राजधानी नयाँ दिल्ली र वरपरका सबै पाँचतारे होटलका कोठा सेप्टेम्बर पहिलो सातादेखि दोस्रो साताको अन्तसम्म अहिले नै रोक्का गरिएको बताइएको छ ।

नयाँ दिल्लीमा आगमी सेप्टेम्बर ९ र १० तारिखका दिन विश्वका औद्योगिक तथा विकासित मुलुकका नेताहरुको शिखर सम्मेलन हुँदैछ । जी २० नाम दिइएको उक्त सम्मेलनको निम्ति यो वर्ष भारत अध्यक्ष मुुलुक हो । सोही समारोहमा भाग लिन आउने पाहुनाको निम्ति सबै पाँचतारे होटलको कोठा अरुलाई रोकिएको बताइएको छ ।

सम्मेलनमा सहभागी हुने मुलुक, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठनलगायत धेरै वटा अन्तर्राष्ट्रिय संघ संस्थाका पाँच सय जना प्रतिनिधिको निम्ति उक्त कोठा आवश्यक पर्नेछ । त्यसैगरी सुरक्षा निकाय र विश्वका विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरुको संख्या केही हजारमा हुने अनुमान छ ।

त्यसअघि सन् २०२३ को प्रारम्भदेखि भारतले सम्मेलनपूर्व आयोजना गर्नुपर्ने दुई सयभन्दा बढी बैठक गराइसकेको छ । दिल्लीको प्रगति मैदामा बनाइएको नयाँ प्रदर्शनी तथा सम्मेलन केन्द्रमा विश्वका नेताहरुलाई भारतीय प्रधानमन्त्रीले सेप्टेम्बर ९ तारिख बिहान ९ बजे स्वागत गर्ने कार्यक्रम छ । सोही दिन राति सोही स्थानमा सांस्कृतिक कार्यक्रमसहित विशेष रात्रिभोजको आयोजना गरिने बताइएको छ ।

विशिष्ट पाहुनाका श्रीमती तथा श्रीमानलाई पनि भ्रमणको छुट्टै कार्यक्रम तयारी गरिएको जानकारी दिइएको छ । भारतले उक्त सम्मेलनमा सबै जानकारी, पाहुनाले खरिद गर्ने सामानलगायत सेवाको भुक्तानी विद्युतीय माध्यमबाट गराउन क्युआर कोडलाई व्यापक प्रयोगमा ल्याउने भएको छ ।

टिप्पणीहरू