मन्त्रीको निर्णय मान्दैनौं : यातायात व्यवसायी महासंघ

मन्त्रीको निर्णय मान्दैनौं : यातायात व्यवसायी महासंघ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात मजदुरहरुलाई ड्रेसकोड र परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयको विरोध गरेको छ । यातायात मजदुरहरुलाई ड्रेसकोड र परिचयपत्र अनिवार्य गर्ने र नमान्नेलाई कारबाही गरिने निर्णय तत्काल संशोधन गर्न महासंघले माग गरेको हो । 

सरोकारवाला मजदुर संगठन, यातायात व्यवसायीहरुको छाता संगठनसँग छलफल नगरी गरिएको निर्णयमा कुनै पनि साथ र सहयोग नगर्ने महासंघद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

यातायात क्षेत्रमा ११ लाख स्वःरोजगार मजदुर रहेको उल्लेख गर्दै महासंघले ड्रेसकोड नलगाए कारबाही गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

भनिएको छ, ‘यातायात क्षेत्रमा काम गर्ने यातायात मजदुरहरुलाई ड्रेसकोड र परिचयपत्र अनिवार्य गरी सो मापदण्डविपरीत सवारी साधन सञ्चालन गर्ने व्यवसायी तथा स्वरोजगार मजदुरहरुलाई कारबाही गर्नेजस्तो अभिव्यक्तिले महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

यातायातमन्त्री ज्वालाले गत साउन ७ गते यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघले आयोजना गरेको कार्यक्रममा चालक र सहचालकलाई ड्रेस र परिचयपत्र अनिवार्य गर्ने बताउनुभएको थियो । ड्रेसकोड झण्झटिलो हुने भन्दै यातायात व्यवसायीहरुले त्यसको विरोध गर्दै आएका छन् ।

टिप्पणीहरू