बजारमा नक्कली उत्पादनको ओइरो, उद्योग विभागमा उजुरीका चाङ
बजारमा नक्कली ट्रेडमार्कको बिगबिगीपछि उद्योग विभाग ‘एक्सन’ मा उत्रिएको छ । सक्कली ट्रेडमार्क भएका वस्तुसँग हुबहु मिल्ने नक्कली मालसामान उत्पादन गरेर उपभोक्ता झुक्याउने तथा ठग्ने क्रम बढेपछि विभागले कारबाही थालेको हो ।
बजारमा भइरहेको ठगीका यस्ता घटना नियन्त्रण गर्ने जिम्मेवारी पाएको विभागले नक्कली उद्योगको पहिचान गरेर उनीहरुका उत्पादनमा रोक लगाउँदै बजारीकरण निरुत्साहित गर्न थप सक्रियता बढाएको छ । सोहीक्रममा विभागले बदाम ड्रिंक्स, विभिन्न ब्रान्डका मदिरा, तरकारीमा प्रयोग हुने मसला, चकलेट, मिनरल वाटरलगायत विभिन्न उत्पादनसँग सम्बन्धित यस्ता उजुरीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको बताइएको छ । गत आर्थिक वर्षमा मात्र त्यस्ता १५२ वटा उजुरीउपर कारबाही गरिएको विभागले जनाएको छ । विभागमा परेका एक हजारभन्दा बढी उजुरीलाई अनुसन्धान र छानबिनको प्रक्रियामा राखिएको छ ।
त्यसैगरी, नक्कली बदामको जुस नियन्त्रण गर्ने र सक्कलीलाई प्रोत्साहन गर्न विभागले काम अगाडि बढाएको जनाएको छ । झापाको अर्जुनधारामा फ्याक्ट्री रहेको एनटिआर नामको नेपाली उत्पादकले भारतीय उत्पादन एमटिआरको हुबहु लोगो प्रयोग गरेर बदाम ड्रिंक्स बजारमा ल्याएको सम्बन्धमा परेको उजुरीमाथि विभागले छानबिन गरेको थियो । सो क्रममा नेपाली उत्पादनले बदमासी गरेको ठहरपछि उसका सबै उत्पादनमा रोक लगाइएको छ भने, बजारमा पुगेका उत्पादन जफत गरि एमटीआरको पक्षमा फैसला गरेको हो ।
त्यसैगरी, सुजल फुड्स पोखराले उत्पादन गरेको चोकोफनको जस्तै लेबल र खोल राखेर भारतीय कम्पनी चोकोजले उपभोक्ता झुक्याएको आरोपमा उक्त चकलेटमाथि पनि विभागले अनुसन्धान गरेको छ । विभागले नेपाली कम्पनीलाई उत्पादन गर्न दिने र भारतीय कम्पनीको चोकोजलाई नेपाली बजारमा हस्तक्षेप गर्न नदिने नीतिगत निर्णयसमेत गरेको बताइन्छ ।
अर्कोतिर विभिन्न मदिराका उत्पादनविरुद्ध पनि विभागमा उजुरी परेकोमा कारबाही भएको छ । रोयलस्टेक मदिराको बोतलमा ‘रोयल ट्याग’ र ‘रोयल सर्ट’ नामका मदिरा हालेर बजारमा बिक्री गर्ने नेपाली कम्पनीको प्रयासलाई विभागले असफल तुल्याइदिएको छ । नक्कली मदिरा उत्पादन गर्ने उक्त उद्योग झापाको गौरादहमा छ ।
नक्कली धन्दा गर्नेमा बियर उद्योग पनि अछुतो देखिँदैन । चौधरी ग्रुपको उत्पादन ‘नेपाल टाइगर’ नामको बियरमा रौतहटको पिपरा पोखरियामा डिस्टिलरी रहेको ‘तराई टाइगर’ को बियर राखेर हुबहुको बोतलमा बजारमा बिक्री गरिएकोविरुद्ध पनि उजुरी परेको थियो । त्यसमा विभागले कारबाही अगाडि बढाएको छ ।
यता, भान्सामा प्रयोग हुने खाने मसलामा पनि यस्तै किसिमका गैरकानुनी कार्य हुँदै आएको छ । बाबा मसला कम्पनी (बिएमसी) ले उत्पादन गरेको मसला भारतीय कम्पनीको हो । ऊसँग ट्रेडमार्क पनि छ । तर, नेपाली कम्पनीले ‘बाबा गोल्ड’ नामको मसला कम्पनी दर्ता गराउने प्रयास गरिरहेको पाइएको छ । यसको कारखाना काठमाडौंको चन्द्रागिरिमा खोलिएको छ ।
यसरी कतै नेपाली कम्पनीले भारतीय ब्राण्ड र कतै भारतीयले नेपाली ब्राण्ड चोरेर नक्कली मालवस्तु बजारमा लैजाने गर्दा आम उपभोक्ता ठगीको मारमा पर्दै आएका छन् । उद्योग विभागमा ‘प्याटेन्ट’, ‘डिजाइन’, ‘ट्रेडमार्क’, गैरकानुनी उत्पादनसँग सम्बन्धित उजुरीहरु बढी परेको देखिन्छ । तर, कतिपय कारणले यी मुद्दाहरुको फछ्र्यौट गर्न विभागले सकेको छैन । मुख्यतयाः म्याद तामेलीको समयले गर्दा उजुरी फछ्र्यौटमा ढिलाई भइरहेको विभागको कानुन शाखाको भनाई छ ।
गत आर्थिक वर्षमा १५० वटा मुद्दा फछ्र्याैट गर्ने लक्ष्य बनाएको विभागको कानुन शाखाले १५२ वटा फछ्र्यौट गरेको छ । बाँकी एक हजार बढी मुद्दा अड्किएर बस्नुमा म्याद तामेली नै मुख्य समस्या मानिएको छ । त्यसबारे कानुन मन्त्रालयसँगको समन्वयमा सर्वोच्च अदालतसँग छलफलको गृहकार्य भइरहेको उपसचिव दिपक घिमिरेले बताए ।
सरकारले इन्धन खर्चमा कटौती गरेपछि उद्योगहरुको अनुगमन गर्न नसकिएको जनाउँदै उजुरी फछ्र्यौट प्रभावित भएको जनाइएको छ । विभागका कर्मचारीले सरकारी गाडी हुँदाहुँदै आवश्यक मात्रामा इन्धन नपाउँदा निजी सवारी साधन प्रयोग गर्न बाध्य भएको बताए ।
यता, ट्रेडमार्क सम्बन्धमा उपभोक्ता नै चनाखो हुनुपर्ने र त्यसका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उपभोक्ता अधिकारका पक्षमा वकालत गर्दै आएकाहरुको जोड छ । गत आर्थिक वर्षमा १५० वटा मुद्दा फछ्र्यौट गर्ने विभागको लक्ष्यभन्दा बढी १५२ वटा फछ्र्यौट गरिएको जानकारी दिइएको छ ।
टिप्पणीहरू