भारतीय रक्षामन्त्रीको अभिव्यक्तिपछि पाकिस्तान चिढियो

भारतीय रक्षामन्त्रीको अभिव्यक्तिपछि पाकिस्तान चिढियो

पाकिस्तानको परराष्ट्र मन्त्रालयले भारतीय रक्षामन्त्री राजनाथ सिंहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । सिंहको हालैको अभिव्यक्ति भड्काउपूर्ण भएको उल्लेख गर्दै पाकिस्तानले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । 

हिजो लद्दाखको द्रासमा उनले दुई मुलुकबीच कायम रहेको नियन्त्रण रेखा पार गर्ने उत्तेजक धारणा व्यक्त गरेपछि पाकिस्तानले आपत्ति जनाएको हो । सिंहको अभिव्यक्ति शान्ति र स्थिरताका लागि खतरापूर्ण रहेको उल्लेख गर्दै त्यसबाट दक्षिण एशियाली क्षेत्रको रणनीतिक वातावरणलाई अस्थिर बनाउने पाकिस्तानी विदेश मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

उसले भारतलाई बेलैमा सावधानी अप्नाउन सचेत गराउँदै जारी विज्ञप्तिमा भनेको छ, ‘भारतका राजनीतिक नेता र वरिष्ठ सैन्य अधिकारीहरुले स्वतन्त्र जम्मु–कश्मीर र गिलगिट–बाल्टिस्तानको बारेमा अत्यधिक गैरजिम्मेवारपूर्ण टिप्पणी गरेको यो पहिलोपटक होइन । यस किसिमको भनाई रोकिनुपर्छ रोक्नुपर्छ । पाकिस्तान भारतको जुनसुकै आक्रमणमा आफ्नो रक्षा गर्न पूर्णरुपमा सक्षम छ ।’ 

भारतीयबवीच राष्ट्रवादलाई जगाउने र चुनावी फाइदा उठाउने उद्देश्यले पाकिस्तानलाई सार्वजनिक बहसमा तानिरहेको पाकिस्तानको ठहर छ । जम्मु–कश्मीरबारे मन्त्रालयले अन्तर्राष्ट्रिय रुपमा विवादित उक्त क्षेत्र संयुक्त राष्ट्र संघको संरक्षणमा रहने स्मरणसमेत गराएको छ ।

टिप्पणीहरू