पर्यटकभन्दा पहिले भाषा भित्र्याऔँ

पर्यटकभन्दा पहिले भाषा भित्र्याऔँ

चीन जानुभन्दा अगाडि चिनियाँ पर्यटक ल्याउने मेरो सहज बुझाइ थियो । एक, नेपालका सबै उत्तरी नाका खोल्ने र स्थलमार्गबाटै पर्यटक ल्याउन प्रोत्साहन गर्ने । दुई, चिनियाँ भाषाका प्रचार सामग्री बनाएर नेपालको सातै प्रदेशका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा व्यापक वृद्धि गर्ने । तीन, चीनका प्रमुख प्रान्त र शहरसँग नेपालका तीनै अन्तर्राष्ट्रिय विमानस्थलको सिधा हवाई सेवामार्फत चिनियाँ पर्यटक ल्याउने । चार, चिनियाँ बौद्धधर्मावलम्बी केन्द्रित भएर लुम्बिनीको खास प्रचार गरी चिनियाँ एलिट र खर्चालु पर्यटकलाई ल्याउने । 

मे महिनाभरि चीनका चार प्रान्त घुमेर आएपछि भने मेरो धारणामा केही परिवर्तन आयो । माथिका पाँचै बुँदा आवश्यक छ । चिनियाँ पर्यटक नेपालमा ल्याउन आवश्यक छ । तर, त्योभन्दा महत्वपूर्ण कुरा त भाषा आवश्यक रहेछ । चीन जाँदा सिचुआनदेखि फुचिआन सबै प्रान्तमा मसँग चिनियाँ साथीहरू थिए । उनीहरू अंग्रेजी बोल्थे । ती साथीबाहेक आममान्छे, होटल तथा क्याफे सञ्चालकदेखि अरु मान्छेलाई अंग्रेजी फिटिक्कै नआउने । अंग्रेजी अक्षरको बोर्ड भएका दोकानमा पनि अंग्रेजी बोल्नेहरू नहुने । बडो सकस । ठूलो समस्या । सांकेतिक भाषा र चिनियाँ एप प्रयोग गरेर दुःखले सञ्चार गर्ने अवस्था थियो । अंग्रेजी बोर्ड लेखिएका ठाउँमा अंग्रेजी भाषा बोल्ने हुँदा पनि चीनमा त्यो स्तरको सकस भएपछि सोचें– चिनियाँलाई पनि त नेपालमा यस्तै सकस हुँदो हो । चिनियाँलाई पनि त पसलदेखि होटल हुँदै पार्क आदि क्षेत्रमा पुग्दा भाषाकै कारणले मलाई चीनमा भएजस्तै समस्या हुँदो हो । जब भाषामै समस्या हुन्छ, जब पर्यटन उद्योगका उद्यमीदेखि आमजनशक्ति नै आफूले जान्ने भाषामा बोल्ने हुँदैनन्, उनीहरूलाई कस्तो तनाव होला ! सायद त्यस्तै होला, जस्तो मलाई भएको थियो ।

सि की छोरीदेखि फेसबुकका साहुसम्मले अतिरिक्त भाषा सिक्न समय र उर्जा लाए भने हामिले किन लनाउने ?

यो कुरामा नेपाली पर्यटन निकायदेखि आमपर्यटन क्षेत्रका व्यवसायी र जनशक्तिले ध्यान दिन आवश्यक छ । चिनियाँ पर्यटक ल्याउने सडकदेखि जहाजका कुरा गरेसँगै त्यसरी आएकाहरूलाई उनीहरूकै भाषामा पोख्त जनशक्ति कसरी खोज्ने ? उनीहरूकै भाषामा निपुण व्यवसायी कसरी बनाउने ? यसतर्फ सोच्न आवश्यक छ । एक जना गाइड वा एक जना व्यवसायी मात्रै चिनियाँ भाषामा पोख्त भएर भएन । कम्तीमा उनीहरू जाने क्षेत्रमा केही न केही र कहीं न कहीं चिनियाँ भाषामा बुझ्न सोध्न पाउने अवस्था सिर्जना गर्न आवश्यकता देखिएको छ । नेपाल पर्यटन बोर्डले आफ्नो आधिकारिक वेबसाइटमा चिनियाँ भाषा प्रयोग गरेको छ । बेइजिङस्थित नेपाली दूतावासले पनि चिनियाँ भाषा वेबसाइटमा प्रयोग गरेको छ । अब यो गति पर्यटन क्षेत्रमा पनि बढाउन अत्यावश्यक भएको छ । चिनियाँ पर्यटक आउने क्षेत्रमा चिनियाँ भाषाका जानकार जनशक्ति बनाउन राम्रो रणनीति लिन आवश्यक छ । विश्वको सबैभन्दा ठूलो पर्यटक बजार हो चीन । कोभिडले थलिएको बेला पनि सन् २०२२ मा चीनबाट ८५ लाख पर्यटक विदेश घुम्न गएको तथ्यांक छ । यो वर्ष नेपालतर्फबाट भएको सगरमाथा आरोहणमा अमेरिकीभन्दा धेरै आँकडा चिनियाँ आरोहीको थियो । विश्वका खर्चालुमा आउने पर्यटक हुन् चिनियाँ । १४१४ किमिभन्दा धेरै स्थल सीमा जोडिएको छ, दैनिक सिधा उडान हुने देश चीनलाई लक्ष्य गरेर भाषा रणनीति अख्तियार गर्न आवश्यक छ । भाषा रणनीति बलियो बनाएर धेरै पर्यटक तान्न सकिन्छ । 

नेपालले चिनियाँ भाषा रणनीति पर्यटन क्षेत्रमा लाउन जनशक्ति उत्पादनमा हलुका खालको कार्यक्रम ल्याउन सक्छ । एक, बढीभन्दा बढी गाइडलाई प्रखर चिनियाँ भाषा सिक्न प्रेरित गर्ने । चिनियाँ भाषा सिकेका पर्यटक गाइडको हरेक वर्ष सयौँ उत्पादन गर्ने । यसो गर्दा चिनियाँ भाषा गाइडको कुनै अभाव हुन्न । जुनसुकै बेला र जो आए पनि गाइड अभाव हुन्न । दुई, चिनियाँ पर्यटक जोडिने क्षेत्रका व्यवसायीलाई सामान्य बोलचालको भाषा कक्षा सञ्चालन गर्ने । ट्रेकिङ एजेन्सी सञ्चालकदेखि चिनियाँ पर्यटक भीडभाड हुने काठमाडाैँ, पोखरा, चितवन र लुम्बिनीजस्ता क्षेत्रमा कोशेली घरका सञ्चालकसम्मलाई चिनियाँ भाषा पढ्न र पढाउन प्रोत्साहन गर्ने । 

यसरी चिनियाँ भाषामा पोख्त जनशक्ति तथा व्यवसायी बनाउन नेपाल सरकार, खासगरी पर्यटन बोर्ड र निजी क्षेत्र दुवैले आ–आफ्नो क्षेत्रबाट पहल गर्न सक्छन् । चिनियाँ पर्यटक भीड हुने क्षेत्रका व्यवसायीलाई नेपाल सरकारले विश्व भाषा कलेजको चिनियाँ भाषा विभागलाई जोडेर बढीभन्दा बढीलाई सामान्य बोलचालमा साक्षर बनाउन सक्छ । नेपाल पर्यटन बोर्डले चीनको संघ सरकार, प्रान्त सरकार वा विश्वविद्यालय अथवा कन्फ्युसियस सेन्टर आदिसँग समन्वय गरेर चिनियाँ भाषा कक्षा सञ्चालन गर्ने । चिनियाँ पर्यटक आउने स्थानीय तहका प्रतिनिधिले चिनियाँ पक्षसँग समन्वय गरेर पनि यस्ता कक्षा सञ्चालन गर्न सक्छन् । चिनियाँ भाषा प्रवर्धन गर्ने चिनियाँ सरकारी तथा निजी क्षेत्रको चाहना र चिनियाँ भाषा सिक्दा हुने अतिरिक्त फाइदाले बन्ने आवश्यकताको कारणले यो रणनीतिक कार्यक्रम सञ्चालन गर्नु दुवै पक्षलाई विन विन कार्यक्रम हुनेछ । 

चिनियाँ भाषालाई अतिरिक्त भाषाको रूपमा पढ्न–पढाउन विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीलाई हौसला पनि आवश्यक छ । संयुक्त राष्ट्रसंघबाट मान्यताप्राप्त भाषा हो चिनियाँ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र र जनसंख्या भएको देशको भाषा हो चिनियाँ । सबैभन्दा धेरै मातृभाषा बोल्ने भाषाको सबैभन्दा ठूलो भाषा हो चिनियाँ । नेपालसँगै स्थलगत सीमा जोडिएर पनि त्यति धेरै भाषा सिक्न पहल नगरिएको देशको महत्वपूर्ण भाषा हो चिनियाँ भाषा । यी तथ्यलाई ध्यानमा राखेर चिनियाँ भाषा सिक्न र सिकाउन नेपालको पर्यटन क्षेत्रले युद्धस्तरमा काम गर्न आवश्यक छ । यसो गरेमा नेपाली पर्यटन उद्योगले मात्रै होइन उद्यमीले पनि राम्रो फड्को मार्नेछन् । भाषाकै अतिरिक्त लगानीकै कारण चिनियाँको दोहोरिएर आउने गन्तव्य नेपाल हुनेछ । अहिले पनि भारतबाहेकका देशबाट आउने सबैभन्दा धेरै पर्यटक भएको देश चीन नै हो । झन् भाषामा रणनीतिक लगानी गरेको खण्डमा यसले बेग्लै फड्को मार्नेछ । यसले बेग्लै उचाइ लिनेछ । 

शक्तिशाली देशका शक्तिशाली मान्छेले त अरु भाषा सिक्छन् । कमजोर देशका जिज्ञासु मान्छेले झन् किन नसिक्ने ! सि चिनफिङकी छोरी सि मिङ्जेले उच्च माध्यमिक शिक्षा पढ्दा फ्रान्सेली भाषा सिकिन् । फेसबुकका मालिक मार्क जुकरबर्गले पनि चिनियाँ सिके । उनले सन २०१५ मा चीनको सिंगुवा विश्वविद्यालयमा त चिनियाँ भाषामै मन्तव्य पनि दिएका थिए । सि की छोरीदेखि फेसबुकका साहुसम्मले अतिरिक्त भाषा सिक्न समय र ऊर्जा लाए भने हामीले किन नलाउने ? हाताहाती फाइदा हुने पर्यटक उद्योगकै जनशक्तिले झन् किन नलाउने ? 
 

टिप्पणीहरू