बोलेरै प्रगति गर्छु भन्नेहरुका लागि ‘महागफाडी’ आउँदै
रियालिटी शो ‘महागफाडी’ निर्माण घोषणा गरिएको छ । टाढापोटी फिल्मस् प्रालिले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा शो आयोजनाको घोषणा गरेको हो ।
बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरुका लागि प्लेटफर्म उपलब्ध गराउने महागफाडी शो सञ्चालन गर्न लागिएको निर्देशक नरेशनाथ योगीले बताए । टेलिभिजन रियालिटी शोको रुपमा तयार हुने उक्त शोमा विश्वका जुनैसुकै कुनामा छरिएर रहेका नेपाली भाषीहरुले सहभागिता जनाउनसक्ने आयोजकले जनाएको छ ।
सहभागीले आफ्नो मातृभाषामा अडिसन दिन पाउने र आफ्ना ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानमार्फत् आफूलाई महागफाडीको दाबेदारको रुपमा प्रस्तुत गर्नुपर्नेछ । विजेताले नगद १५ लाख रुपैयाँ र सवारी साधन, द्वितीय हुनेले नगद १० लाख रुपैयाँ र सवारी साधन तथा तृतीय हुनेले नगद ५ लाख रुपैयाँ र सवारी साधन उपहारको रुपमा प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
वरिष्ठ हास्य कलाकार शैलेन्द्र सिंखडा, बुद्धि तामाङ र अभिनेत्री लुनिभा तुलाधर शोमा निर्णायक हुनेछन् । कार्यक्रमको सञ्चालन कलाकार कामेश्वर चौरसियाले गर्नेछन् । आयोजकले अनलाइन अडिसन खुल्ला गरिसकेको छ । अडिसनमा छनोट भएका सर्वोत्कृष्ट १८ जनाबाट मुख्य उपाधिका लागि प्रतिस्पर्धा हुने बताइएको छ ।
प्रतियोगिताको फाइनल अष्ट्रेलियामा गर्ने तयारी गरिएको शो टेलिभिजनमा भने १६ हप्तासम्म चल्ने छ । कार्यक्रम अवधिभर प्रतियोगीहरुले कुनै भाषा, लैंगिक, समुदाय, जातजाती, धर्म सम्प्रदायलाई प्रत्यक्ष नकारात्मक असर पर्ने प्रस्तुति भने राख्न पाउने छैनन् ।
टिप्पणीहरू