थापालाई मुख्यमन्त्री बनाउन कोशीका सभामुखले पद छोडे

थापालाई मुख्यमन्त्री बनाउन कोशीका सभामुखले पद छोडे

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् ।

नेपाली काँग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन यसअघि गरेको हस्ताक्षरलाई सर्वोच्च अदालतले अवैध ठहर गरेपछि विवादमा परेका उनले आज राजीनामा दिएका हुन् । प्रदेशसभामा बहुमत पुर्याउन एक भोट नपुग्ने पेचिलो अंकगणितका कारण केन्द्रीय सत्ता गठबन्धनको बैठकले बिहान राजीनामा गर्न आग्रह गरेपछि सभामुख गौतमले पद छोडेका हुन् । 

९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ मत चाहिन्छ । सत्ता सहकार्यमा रहेका काँग्रेस, माओवादी र एकीकृत समाजवादीसहितको जम्मा ४६ मत छ । एमाले र राप्रपाको पनि त्यति नै संख्यामा सांसद छन् । जसका कारण कोशीमा राजनीतिक अस्थिरता बढेपछि काँग्रेस–माओवादी गठबन्धनले सभामुखलाई राजीनामा गराएर पुनः थापालाई नै मुख्यमन्त्री बनाउने तयारी थालेका छन् । 

यसअघि एमाले नेता तथा पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउन नसकेपछि सभामुखको हस्ताक्षर लिएर थापा मुख्यमन्त्री नियुक्त भएका थिए । सोविरुद्ध कार्की सर्वोच्च अदालत पुगेका थिए ।

उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकार बनाउन सभामुखको हस्तक्षरलाई वैधता नदिएपछि थापा नेतृत्को सरकार ढलेको थियो । त्यसपछि प्रदेश प्रमुखले पुनः मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको सात दिनको समय आज साँझ ५ बजे सकिंदैछ ।

टिप्पणीहरू