जुम्लामा रक्सी बेच्ने र सेवनकर्ता दुबैलाई कार्ड अनिवार्य
जुम्लाको गुठिचौर गाउँपालिकामा मदिरा (रक्सी) सेवन गर्न कार्ड (स्वीकृति) लिनुपर्ने भएको छ । गाउँपालिकाको मदिरा नियन्त्रण कार्यविधि २०८० पारित भएसँगै यस्तो व्यवस्था लागु भएको हो ।
गाउँपालिकाले मदिरा सेवन गर्न चाहनेलाई साउनभित्रै कार्ड लिन सूचित गरेको छ । पालिकाका अनुसार घरमा आएका पाहुनाले रक्सी सेवन गर्न चाहेमा अतिथि मदिरा सेवा कार्ड लिनुपर्ने छ ।
त्यस्तै, रक्सीको बिक्री वितरणका लागि इजाजत अनिवार्य गर्दै पालिकाले यस्तो इजाजत लिन, नवीकरणको काम गर्न साउनको समयसीमा तोकिदिएको छ ।
अब गुठिचौर गाउँपालिकामा सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्य केन्द्र, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालयभन्दा ५ सय मिटर टाढा मात्र रक्सी पसल खोल्न पाइने भएको छ । रक्सी पसलमा अन्य सामान बिक्री गर्न पाइने छैन ।
इजाजत पत्र प्राप्त गरेको बिक्री पसलले आफुले बिक्री गरेको मदिराको अभिलेख समेत दुरुस्त राख्नुपर्ने सूचनामा उल्लेख छ । मदिरा होलसेलले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री गर्न पाउँछन् ।
खुद्रा पसलेले भने सेवनकर्तालाई बेलुकी ६ बजेदेखि राति ९ बजेसम्म मात्र बिक्री गर्न पाउने गाउँपालिकाको सूचनामा उल्लेख छ । मदिरा सेवन कार्ड लिएका सेवनकर्ताले दैनिक १८० मिलिलिटर रक्सी वा एक बोतल बियर मात्र सेवन गर्न पाउँछन् ।
यसका लागि मदिरा सेवन कार्डको मूल्य वार्षिक ५ सय र नवीकरण शुल्क ५ सय रुपैयाँ तोकिएको छ । अतिथि कार्डका लागि प्रत्येक दिन १ सय रुपैयाँ तिर्नुपर्छ ।
पालिकाको नियम विपरीत गर्नेलाई पहिलो पटक एक हजार रुपैयाँ जरिवाना गरिने चेतावनी दिइएको छ । सोही व्यक्तिले पटक पटक नियम तोडेमा हरेक पटक दुई हजारका दरले जरिवाना बढ्दै जाने समेत सूचनामा उल्लेख छ ।
मदिरा बिक्री वितरण गर्नेले नियम तोडेमा पहिलो पटक १० हजार र त्यसपछि २० हजारका दरले जरिवाना बढ्दै जाने गाउँपालिकाले जनाएको छ ।
टिप्पणीहरू