युद्धग्रस्त मुलुकमा नजान सरकारको आग्रह

युद्धग्रस्त मुलुकमा नजान सरकारको आग्रह

परराष्ट्र मन्त्रालयले युद्धग्रस्त मुलुकहरुमा सुरक्षासम्बन्धी काममा नजान अनुरोध गरेको छ । मन्त्रालयले राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धमा कुनै नीति नरहेको उल्लेख गर्दै त्यस्तो रोजगारीमा नजान सल्लाह दिएको हो ।

मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति बेलैमा सजग रहन भनिएको छ । ‘विदेशी सेनामा नेपाली नागरिकहरु भर्ना सम्बन्धमा परम्परागत रुपमा सम्झौताअन्तर्गत केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

कसैको प्रलोभन वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरुमा सुरक्षासम्बन्धी काममा नजान परराष्ट्रले सर्वसाधारणलाई आग्रह गरेको हो ।

टिप्पणीहरू