गाहा मगरले परराष्ट्रमा कागजात बुझाए, हितकाजीको अवस्था अब के हुने ?

गाहा मगरले परराष्ट्रमा कागजात बुझाए, हितकाजीको अवस्था अब के हुने  ?
सुन्नुहोस्

गैरआवासीय नेपाली संघ,बेलायतका अध्यक्ष प्रेम गाहा मगरले २० हजार ७०७ जना सदस्यको म्यान्डेटसहित आफू अध्यक्ष पदमा पुनः निर्वाचित भएको जानकारी परराष्ट्र मन्त्रालयलाई दिएका छन् ।  

मगरले यसवारेमा परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर झण्डै एक घण्टा कुराकानी गरेका छन् । त्यस अवसरमा उनले गत जुलाई २१ र २२ मा सम्पन्न एनआरएनए युकेको ११ औं राष्ट्रिय महाधिवेशनबाट आफू २० हजार ७०७ जना सदस्यको म्यान्डेट प्राप्त गरी अध्यक्ष पदमा पुनः निर्वाचित भएको जानकारीसहित सम्पूर्ण कार्यसमितिको विवरण मन्त्रालयमा पेश गरेको बुझिएको छ । 

उनले मन्त्रीलाई गैरआवासीय नेपाली संघ,बेलायतका केहीले अर्को छुट्टै भेला आयोजना गरेको र त्यसबाट चार हजार एक सय हाराहारी मत प्राप्त गरी हितकाजी गुरुङ र उनको टिम निर्वाचित भएको सुन्नमा आएको भन्दै उक्त कार्यप्रति आफ्नो नेतृत्वको कार्यसमितिले गम्भीर आपत्ति जनाएको पनि सिंहदरबारमा अवगत गराएका थिए । 

‘गैरआवासीय नेपाली संघ बेलायतको विधान, २००५ को धारा ३५ मा गणपूरक संख्याको विषयमा उल्लेख छ । उक्त धाराको उपधारा (१) मा राष्ट्रिय समन्वय परिषद्,राज्य समन्वय परिषद्, विभिन्न विभाग वा समितिका बैठकहरुको गणपूरक संख्या अध्यक्षबाहेक ५० प्रतिशतलाई मानिनेछ भन्ने’ व्यवस्था रहेकोमा सोही धाराको उपधारा (२) मा पूर्ण बैठक, राष्ट्रिय महाधिवेशन, संघसंस्था प्रतिनिधिसभा, र राज्य अधिवेशनको हकमा पहिलो पटक अध्यक्षबाहेक ५० प्रतिशत र पहिलो पल्ट गणपूरक संख्या नपुगी दोस्रो पल्ट बैठक बस्नुपरे एक तिहाई संख्यालाई गणपूरक मानिने व्यवस्था गरिएको छ ।

 

त्यसैगरी उपधारा (३) मा ‘गैरआवासीय नेपाली संघ बेलायतको राष्ट्रिय महाधिवेशन वा संघसंस्था प्रतिनिधि सभा वा राज्य अधिवेशन वा राष्ट्रिय समन्वय परिषद् वा राज्य समन्वय परिषद् वा विभिन्न विभागहरुको बैठकमा प्रस्तुत विषयउपर प्रजातान्त्रिक ढंगले छलफल गरी सर्वसम्मतिले निर्णय गरिनेछ । सर्वसम्मत हुन नसके बहुमतले निर्णय गरिनेछ । बहुमतको निर्णयलाई बैठकको निर्णय मानिनेछ भन्ने व्यवस्थाविरुद्ध जम्मा सदस्य संख्याको मात्र चार हजार एक सय मत प्राप्त गर्ने व्यक्ति वैधानिक हुन सक्दैन’ भन्ने व्यहोरा मन्त्रालयमा बुझाइएको पत्रमा उल्लेख छ । 

साथै गैरआवासीय नेपाली संघको विधान, २००३ को धारा २३ (११) मा राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा उम्मेदवार बन्न राष्ट्रिय समन्वय परिषद वा अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य वा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनु पर्नेछ भन्ने व्यवस्था रहेको जनाउँदै गाहामगरले गैरआवासीय नेपाली संघ बेलायत, २००५ को विधानको धारा ३२ (६) मा राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदको उम्मेदवार बन्न कम्तीमा एक कार्यकाल राष्ट्रिय समन्वय परिषदमा कार्य गरेको हुनु पर्नेछ भन्ने रहेकाले हितकाजी गुरुङ सन् २०२१ देखि २०२३ सम्मको कार्यसमितिको कार्यकालमा गैरआवासीय नेपाली संघ बेलायतको मनोनीत सदस्यसम्म रहेको जानकारी पनि दिइएको छ । तथापि निजले राष्ट्रिय समन्वय परिषदबाट शपथ ग्रहण नगरेको र उक्त कार्यकालयमा परिषद्को कुनै पनि बैठक निर्णयमा सहभागिता नजनाएको हुँदा हितकाजी गुरुङ अध्यक्ष पदको अयोग्य उम्मेदवार निर्वाचित हुन नसक्ने लिखित जानकारी दिइएको मन्त्रालय स्रोतले बताएको छ ।

हितकाजी र उनको समूह विदेशमा रहेको नेपाली समाजलाई विभाजन गराउनेतर्फ लागेको कदमप्रति समस्त बेलायती नेपाली समुदायको तीब्र असन्तुष्टि र विरोध रहेकोबारे गाहामगरले मन्त्रीलाई जानकारी गराएका छन् ।

उनले जन अनुमोदित आफ्नो कार्यसमितिलाई अभिलेख एवम् आधिकारिकता प्रदान गरी समाजमा विद्यमान भ्रम निवारण गरिदिन मन्त्री साउदलाई अनुरोध गरेको बताए । उक्त पत्रको बोधार्थ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाईसमेत दिइएको छ ।

टिप्पणीहरू