माओवादी नेताद्वारा उत्तराधिकारीको माग
राजधानीमा जारी माओवादी केन्द्रीय समिति बैठकमा उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्वलाई उत्तराधिकारी तोकेर अघि बढ्न सुझाव दिएका छन् । उनले वर्तमान नेतृत्वको विकल्प खोज्न नहुने उल्लेख गर्दै उत्तराधिकारी तयार पार्ने विधिमा भने जानैपर्ने सल्लाह दिएका छन् ।
उनले भने, ‘अहिले समस्या विचारभन्दा विधिको हो । विधान सम्मेलनबाट यसलाई हल गरौँ । उत्तराधिकारी तयार पार्ने विधिमा जाऔं ।’ नेता पुनले कसैले पनि अध्यक्षको विकल्प अहिले खोज्न नहुने बताए ।
उनले भनेका छन्, ‘अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु । तर बिरामीका कारण आफू एक वर्षदेखि पार्टीको काममा फर्कन नसकेको र अहिले पूर्णलाभ प्राप्त गरिसकेको पार्टी केन्द्रीय समितिलाई जानकारी गराइसकेको छु ।’
अर्का उपमहासचिव जनार्दन शर्माले धारणा राख्ने क्रममा पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आफूले राखेको धारणालाई गलत ढंगले व्याख्या गरिएको बताए । उनले भने, ‘मेरो उक्त धारणालाई अध्यक्षलाई असहयोग गरेको रुपमा प्रचार गरियो ।’
टिप्पणीहरू