शन्दर्भ सुशासनको भोगाई यातायात व्यवस्था कार्यालयको

शन्दर्भ सुशासनको भोगाई यातायात व्यवस्था कार्यालयको

पहिले पहिले शान्ती सुरक्षा अमन चैन भन्ने कुरा राज्यको पहिलो दायित्व भित्र पर्दथ्यो । दोस्रो विश्वयुद्ध पश्चात लोक कल्याणकारी राज्यको अवधारणाको विकास भयो । सन् १९८० को दशक पछाडी कुनै न कुनै रुपमा राज्यमा शुसासन हुनुपर्छ भन्ने कुरा उठन थाल्यो । आज शुसासनको विषयमा थुप्रै नविन धारणाहरु सार्वजनिक भएका छन् । त्यसमध्ये कानूनी शासनको प्रत्याभूति, उत्तरदायित्व, जिम्मेवारीपना, पारदर्शिता र सेवा प्रवाह मुख्य रुपमा अपरिहार्य विषयवस्तु बनेका छन् । ति मध्ये पनि जनताले प्रत्यक्ष रुपमा अनुभूत गर्ने विषय भनेको सेवा प्रवाह नै हो । यस सम्बन्धमा कुनै पनि मुलुकको कानूनी प्रावधान र सेवा प्रवाह कस्तो छ भन्ने कुरा बाट नै त्यस देशको शुसासनको अवस्थाको बारेमा अनुमान गर्न   सकिन्छ ।

नेपालको संविधान २०७२ को धारा ५१ मा राज्यका नीतिहरुको उल्लेख गरिएको छ । उक्त धाराको खण्ड (ख) मा राजनीति तथा शासन व्यवस्था सम्बन्धी नीति उल्लेख भएको पाइन्छ भने ऐ.खण्ड को उपखण्ड (४) मा, सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्ट्राचारमुक्त, जनउत्तरदायि र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच, सुनिश्चित गरी सुशासनको प्रत्याभूत गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । संविधानमा सुशासनको प्रत्याभूत गर्ने कुरा मात्रै गरिएको छैन राज्यका नीतिहरु समेतको कार्यान्वयन गर्ने दायित्व पनि राज्यलाई प्रदान गरिएको छ । धारा ५२ मा राज्यको दायित्व सम्बन्धी व्यवस्था छ । जसमा भनिएको छ : नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनतालाई अक्षुण राख्दै मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्बद्र्धन, राज्यका निर्देशक सिद्धान्तहरुको अनुसरण तथा राज्यका नीतिहरुको क्रमशः कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने राज्यको दायित्व हुनेछ । सुशासन सम्बन्धि अन्तर्राष्ट्रिय मूल्य मान्यता र हाम्रो संविधानले प्रत्याभूत गरेको सन्दर्भमा वर्तमान सरकार बने देखिनै मुलुकको प्रधानमन्त्रीले यस पटक अलि फरक ढंगले काम गर्ने विचार गरेको छु । अर्थात् आफ्नो यो कार्यकाललाई अविश्मरणीय बनाउने विचार गरेको छु भन्नुभएको थियो । नेपालमा मुखले भन्ने कुरा र व्यवहारमा हुने काम कारवाहीका बीचमा ठूलो खाडल हुने गरेको परिपेक्ष्यमा प्रधानमन्त्रीको उक्त भनाइलाई सहजै पत्याई हाल्न सकिने अवस्था थिएन र छैन पनि । 

‘यातायात व्यवस्था कार्यालय हिजो र आज’

सदाझै यो वर्ष पनि निबृत्त हुँदा राज्यद्वारा प्राप्त सवारी साधन मोटरको कर तिरी ब्लुबुक नविकरण गर्नुपर्ने भएकोले यातायात कार्यालय जानु पर्ने भयो । मिति २०८०।३।५ गतेका दिन त्यसतर्फ जानुपूर्व मनमा विभिन्न तर्कनाहरु चले । नेपालका कार्यालयहरुमा कोही चिनेजानेका मानिसहरु भए भने सेवा लिन अलि सजिलो हुन्छ । यो कुरा सबैलाई थाहा जानकारी भएकै विषय हो । यातायाता व्यवस्था कार्यालयमा कोही चिनेजानेका साथीभाईहरु भए अलि सजिलो हुने थियो कोही भेटिन्छ भेटिदैन । त्यहाँ जानासाथ पहिले फाइल खोजेर ल्याउनुहोस् भनि हाल्छन् । त्यसपछि फाइल भेटिने हो होइन ? भेटिहाल्यो भने पनि कतिवटा कोठा चोटा चाहार्नुपर्ने हो । मोवाइल चलाउँदै गफमा मस्त भएका कतिलाई जि हजुरी गर्नुपर्ने हो भन्दै गाडीको ब्लुक बुक लिएर एकान्तकुनातिर लागियो । त्यहाँ पुग्नासाथ घेरा हाल्ने जनहरु कोहि भेटिएन । कहाँ कता जाने होला भन्दै सोध्दै जाँदा पूर्वतर्फको भवनको भुईतलाको पल्ला छेउमा १ नं. काउन्टरबाट कुपन लिन पाइने रहेछ । त्यहाँ गै कुपन लिना साथ २ नं. काउण्टरमा जानु भनियो । त्यहाँ जाँदा हिसाब किताब बताइदिनुभयो र भन्नुभयो फाइनल कपि लिन पछि आउनुहोला अहिले ४।५।६ जुन काउण्टर खाली छ त्यसमा जानुहोस् भन्नु भए बमोजिम हेर्दै जाँदा ६ नं. काउण्टर खाली रहेछ । ब्लुबुक माग्नु भयो र एकै छिन बस्नु होस है भन्नु भयो । एकै छिन पछि ३ या ४ नं. काउण्टरबाट बोलाउनु भयो । हिसाब अनुसारको रकम बुझाउन आग्रह भयो । त्यो शुल्क बुझाएपछि पछाडि ११ नं. काउण्टरमा जानु एकछिन पछि आउँछ भन्नु भयो । हामी पछाडि तर्फ लाग्यौं । 

सबै ठाउँमा यसैगरी काम हुने हो भने आमजनताले दु : ख पाइयो भनेर गुनासो गर्ने ठाउँ नै कहाँ रहन्थ्यो र !

पछाडिगै पर्खिने व्रप्ममा पुरानो सम्झना आयो । गतवर्ष फाइल खोज्ने झन्झट अनि त्यो फाइल बोकेर जहाँ जहाँ भन्छन त्यहाँ गयो कसैले वास्तावेवास्त गर्दैनन । वल्लवल्ल तपाईको के छ भनि सोधी हाले भने यो मिलने र त्यो मिलेन मिलाएर ल्याउनु भन्दछन् । पुनः त्यो मिलाउन लिएर गयो । यति कुरा त त्यहीबाट हेरी दिए पनि हुने हो ल भैहाल्यो एक छिन बस्नु म हेरी दिउला भनेपछि बस्नै पर्‍यो । एवं रितले ब्लुबुक रिन्यू गर्दा लगभग दिनभर जस्तो लाग्दथ्यो । यहि कुरा सम्झिँदा सम्झिदैमा नाम बोलावट भयो । यसो घडी हेरे कुपन लिएको आधा घण्टा पनि भएको रहेनछ । सबै ठाउँमा यसै गरी काम हुने हो भने आम जनताले दुःख पाइयो भनेर गुनासो गर्ने ठाउँ नै कहाँ रहन्थ्यो र अनि प्रधानमन्त्रीले संसदमा बोल्दै अहिले यातायात कार्यालयमा गएर हेर्नुभयो भने तपाईले त्यहाँ कहिकतै लाइन लागेको देख्नु हुने छैन भनेको दृष्य याद आयो । यस कार्यबाट नेपालमा भनाई र गराईका बीचमा रहेको भिन्नताको खाडलमा अलिकति माटो भरिएर आएको महसुस भयो । 

एक डेढ महिना पहिले त्रिभुवन विमानस्थलमा बाहिरबाट आएकी छोरीको पर्स तल गाडी चढ्ने ठाउँमा ट्रलीमा छुटेको थियो । ३ दिनपछि विभिन्न तर्क बितर्क गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँदा ड्यूटी अफिसरबाट के थियो होला भनि सोधनी भयो । अस्ती हाम्रो एउटा पर्स छुटेछ भन्नासाथ त्यो यस्तो रंगको यो यति पैसा भएको हो भनेर सोधियो हामीले हो भन्नासाथ त्यो मैले नै भेटी माथी लगि दिएको छु । माथि गई लिएर जानुहोस् भन्दै एक जना जवानलाई माथी पुर्‍याउने जिम्मा लगाउनु भएको थियो । त्यतिबेला लाग्यो अब हाम्रो मुलुक पनि अन्य विकसित मुलुक जस्तै भयो । त्यसको मूल कारण हामीहरु जो कोही पनि रिङरोड भित्र जाँनासाथ सि.सि. क्यामेराको निगरानीमा हुँदा रहेछौ । यसबाट कोही कसैले पनि दायाँ बायाँ गर्ने गुन्जायस नै रहेनछ । यो त राम्रो कामको शुरुवात पो भएछ । यस्तो राम्रो काम कुरालाई सार्वजनिक गर्नुपर्छ । हामी सधै नराम्रा कुरा मात्र गर्ने लेख्ने गर्दछौं । यदि राम्रा काम कुरा भएका छन भने त्यस विषयमा पनि कलम चलाउनु पर्छ भन्ने लागेको थियो । एक जना मित्रलाई यो कहाली सुनाउँदा साथ उहाँले भन्नु भयो यस्तो राम्रो कहानी -Storyरहेछ मित्र यस विषयमा लेखी हाल्नुहोस् त भन्नुभयो । अनि मित्रको आग्रह अनुसार लेखियो र छापिएको पनि थियो । यसपटक यातायात व्यवस्था कार्यालय एकान्त कुनाको अनुभूति पनि त्यो भन्दा भिन्न रहेन । ज्यादै सुखद अनुभूति गर्दै घर फर्कियो आनन्दसँग चिया नास्ता गरियो । आफूले अनुभूत गरेको सुखानुभूति अझ भनौ खुसी जुन सुख भन्दा धेरै परको विषय हो त्यो परिवारका सबै सदस्यलाई सुनाइयो । यो परिवारजनमा मात्रै सिमित गर्ने विषय होइन । यसलाई पनि आमजनतामाझ लैजानुपर्दछ । किनभने यसले सुशासनको खडेरी परेको बेला यो र यस्ता अनुभूतिले काम गर्नेहरुको हौसला बढाउने छ । धन्यवाद छ ती सबै सेवा प्रदायकहरुलाई जसको राम्रोसँग अनुहार पनि देखिएको थिएन । सेवा लिन जानेहरुको लागी यो एउटा सहि सूचना प्रवाह पनि हुने छ भन्दै आजलाई यो कलम यहिनेर बिसाउने अनुभूति चाहन्छु । 

उहाँ उच्च अदालतको पूर्व न्यायाधिश हुनुहुन्छ  

[email protected]

टिप्पणीहरू