ट्रम्प, मस्क र ‘ए आई’ को खतरनाक अन्तर्घुलन

ट्रम्प, मस्क र ‘ए आई’ को खतरनाक अन्तर्घुलन

डाक्टर मेंगेलले एडोल्फ हिटलरको दाहिने हातबाट एक लिटर र देब्रे हातबाट अर्को एक लिटर रगत झिके । त्यो दुई लिटर रगत ब्राजिल पठाइयो । जर्मन तानाशाहका अनुयायीहरु ‘प्लान बी’ को तयारी गर्दैथिए । उनीहरुको अवचेतन मनले भन्दै थियो– विश्वमा आर्यन मूलको आधिपत्य कायम गर्ने आफ्नो योजनालाई बहुराष्ट्रिय सेनाले भत्काउने सम्भावना छ । दक्षिण अमेरिकी मुलुक ब्राजिल नाजीहरूको सुरक्षित शरणस्थल थियो । युरोपबाट लुटिएका धन सम्पत्ति स्विट्जरल्याण्डको बैंकमा जम्मा गर्नुअघि त्यतै थुपारिएको थियो । यो सन् १९४० तिरको कुरा हो । 

१९७० तिर एक यहुदी बूढा दृश्यमा आए । याकोब लिबरम्यान थियो उनको नाम । तीस वर्षअघि मानवताविरुद्ध अपराध गरेका नाजीहरुलाई खोजेर कानूनी कठघरामा उभ्याउने कामलाई उनले आफ्नो जीवनको अभियान बनाएका थिए । ब्राजिलको एउटा होटलमा नाजीहरूको गोप्य बैठक चल्दै थियो । उनले होटलको एउटा कर्मचारीलाई त्यो कोठामा जासुसी यन्त्र जडेर कुरा सुन्न सकिने व्यवस्था मिलाएका थिए । 

बैठकमा डाक्टर मेंगेलले भनेको सुनियो, ‘महान फ्युहरर अब हामीबीच हुनुहुन्न । तर उहाँले छोडेर गएको अद्भूत उपहार, उहाँको रगत हामीसँग छ । त्यसबाट हामी अरु धेरै फ्युहरर जन्माउन सक्छौं । हाम्रो अभियान रोकिएको छैन । हामीले संसारभरिका जैविक बाबु आमाको रगतमा त्यो ‘फ्युजन’ गर्नु जरुरी छ । अहिले हामीसंग ७४ जना सम्भावित जोडीको सूची छ । तिनका बाबुलाई जसरी महान हिटलरका बाबु दुर्घटनामा मरेका थिए, त्यसरी नै मार्नु जरुरी छ । हत्या हो, तर दुर्घटना देखाउनु हाम्रो उद्देश्य हो । यो हो ती ७४ जना जोडीको सूची ।’

कथा लामो छ । तर लिबरम्यान कसैगरी त्यो सूची आफ्नो हात पार्छन् । यो षड्यन्त्रको सूचना इजरेलको खुफिया संस्था मोसादको कानमा पर्छ । इजरेलीहरु याकोब लिबरम्यान र त्यो सूची खोज्दै आउँछन् । अन्ततः याकोब मोसादको फन्दामा पर्छन् । मोसाद ती ७४ जनै जैविक मातापिताले नयाँ हिटलर जन्माउनुअघि नै उनीहरुको जीवन समाप्त गर्न चाहन्थ्यो तर याकोब अन्त्यमा त्यो सूची चपाएर निलिदिन्छन् । मोसाद रित्तै हात फर्किन्छ । नयाँ हिटलर जन्मिंदैन । 

यो ईरा लेभिन नामक एक लेखकको काल्पनिक कृति हो । यसबारे सन् १९७८ मा एक धुम मच्चाउने सिनेमा पनि बनेको छ, ‘द ब्वाईज फ्रम ब्राजिल’ । कथा काल्पनिक भए पनि एउटा व्यक्तिको रगतको ‘जीन’ लिएर त्यसबाट सयौं मान्छे जन्माउन बैज्ञानिक रुपले सम्भव छ । बैज्ञानिकहरुले यो प्रविधिलाई ‘क्लोनिंग’ नाम दिएका छन् । 

सन् १९९६ मा यसै प्रविधिबाट एउटा भेंडाको जन्म भयो । यसलाई ‘डली’ नामाकरण गरियो । वैज्ञानिकहरु उत्साहित थिए । तर यसले मानवीय चेत र नैतिकताका बारेमा एउटा नयाँ बहसलाई जन्म दियो । सन् २००५ मा संयुक्त राष्ट्रसंघले ‘मानव क्लोनिङ्ग घोषणापत्र’ जारी ग¥यो । जसमुताविक विज्ञानले एउटा मान्छेको अर्को ‘क्लोन’ उत्पादन गर्न सक्दैन । तर यो घोषणापत्र बाध्यकारी छैन । बैज्ञानिकहरु केवल नैतिकताका आधारमा रोकिएका छन् । कुनै पनि शक्तिशाली मुलुकको शासकले नैतिकताको बन्धन चुँडालेर यो ‘प्रोजेक्ट’ लाई निरन्तरता दिन सक्छ । त्यस अवस्थामा कुनै पनि स्थापित मूल्य र मान्यताले यसमा रोक लगाउन मिल्दैन । यो प्रविधिलाई अहिलेसम्म नैतिकताको सीमाले संकुचित गरेको मात्रै हो ।

युद्ध र नैतिकता परस्पर विरोधी अवधारणा हुन् तर भ्लादिमिर पुटिन र भ्लोदिमिर जेलिन्स्कीलाई कसले रोक्न सक्यो ? हमास र इजरेल कुन नैतिकताको पाठ पढेर युद्दमा होमिए ? अमेरिका, रूस, बेलायत, फ्रान्स र चीनजस्ता राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्य हरुलाई हतियार उत्पादन गर्न कसले रोक्न सकेको छ ? गरिब देशका तानाशाह र आतंककारीलाई यी हतियार खरीद गर्न कसले रोकेको छ ? 

उनले ट्रम्पलाई वैदेशिक सहायता नरोक्न अनुरोध गरे तर मस्कले ट्रम्पलाई गेट्सको सल्लाह सुन्न दिएनन् । ट्रम्पमाथि गेट्सको जोर चलेन । 

अहिलेको समस्या तर क्लोनिङ होइन । संसार कृत्रिम बौद्दिकता अर्थात ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को चरणमा प्रवेश गरेको छ । क्लोनिङ्ग प्रविधि घुमाउने टेलिफोनको जस्तो ‘अनालग’ हो भने आर्टिफिसियल इन्टेलिजेन्स ‘डिजिटल’ प्रविधिको पनि उच्च विकसित स्वरुप । अहिले यो प्रविधिको सामान्य स्वरुप मात्रै आम जनताको पहुँचमा छ । यसको गुदीको अभ्यास सैन्य उपकरण निर्माता राष्ट्रहरु कसरी गर्दैछन्, त्यसको भेउ आम नागरिकले पाउन बाँकी नै छ । 

सन् ९० को दशकमा छताछुल्ल भएर विश्वका आम नागरिकको पहुँचमा पुगेको ‘ईन्टरनेट’ प्रविधि संसारका लागि नयाँ सूचना क्रान्ति लिएर आयो । तर अमेरिकी सेनाका लागि यो पुरानो भैसकेको थियो । उनीहरु यसको प्रयोग सन् १९६८ देखि नै गर्दै थिए । यसलाई शुरुमा ‘अर्पानेट’ नाम दिईएको हो । यसले अमेरिकी सैन्य सूचना गोप्य रुपले एउटा कम्प्युटरबाट अर्को स्थानमा रहेको सैन्य अखडाको कम्प्युटरमा पुर्‍याउन उल्लेख्य भूमिका खेलेको थियो । 

‘बोल्ट बेरानेक एण्ड न्युम्यान इन्क’ नामक बोस्टनको एक कम्पनीले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका लागि यसको शुरुवात गर्दा माइक्रोसफ्टका जन्मदाता बील गेट्स आठ कक्षामा पढ्ने तेह्र बर्षे किशोर थिए । उनले सात वर्षपछि सन् १९७५ मा माइक्रोसफ्टको आविष्कार गर्दासमेत इन्टरनेटको अवधारणा विकसित भइसकेको थिएन । उनको माइक्रोसफ्ट एक ठाउँको कम्प्युटरमा स्थीर रहेर काम गर्न मिल्ने एक प्राविधिक कार्य पद्दति मात्रै थियो । सन् १९८३ मा अमेरिकी सेनाले ‘आर्पानेट’ लाई जनता बीच लैजाने अनुमति दिएपछि मात्रै ‘ईन्टरनेट’ युगको आरम्भ भएको हो । त्यतिबेला यो सेवा प्रदायक एक दर्जन भन्दा बढी कम्पनी अहिले इतिहास भैसके । उनीहरुको नामसमेत सुनिन्न । कम्पनी सकियो, प्रविधि विकासक्रममा छ । 

सन् १९९८ मा ल्यारी पेज र सर्गेई ब्रिनको गुगल बजारमा आएपछि इन्टरनेटको परिभाषा फेरियो । अहिले अमेरिकामा झन्डै १४ सय इन्टरनेट सेवा प्रदायक कम्पनी छन् र यो संख्या हरेक महिना बढ्दो छ तर गुगलको अमेरिकी सैन्य सामग्री उत्पादक कम्पनीहरुसंगको सहकार्यले यसलाई नयाँ उचाईमा मात्र पुर्‍याएन, गुगल इन्टरनेटको पर्यायवाची शब्द बन्न पुग्यो । संसारभरिका इन्टरनेट प्रयोगकर्ताहरु ‘ईन्टरनेटमा खोजौं’ भन्नुको सट्टा ‘गुगल गरौँ’ भन्न रुचाउँछन् । 

अब जमाना गुगलको मात्रै छैन । इन्टरनेटले खोजेको कुराको सूचना मात्रै दिंदैन । चाहेको कुरा बनाएर प्रस्तुत गरिदिन्छ । कृत्रिम बौद्दिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ले मानव जीवनशैलीमा अभूतपूर्व हस्तक्षेप गर्न थालेको छ । संसारभर करिब ७० हजार ‘ए आई’ कम्पनीहरु प्रविधिको यो दौडमा प्रतिस्पर्धा गर्दैछन् । यसमध्ये १७ हजार पाँच सय वा २५ प्रतिशत ‘ए आई’ कम्पनी त अमेरिकामा मात्रै छन् । 

अहिले चिनियाँ डिपसिक नामक ए आई कम्पनीले चुनौती दिएको अमेरिकाको सबैभन्दा ठूलो ए आई कम्पनी एन्भिडियाबाहेक एप्पल, बील गेट्सको माइक्रोसफ्ट र गुगलको अल्फाबेट अमेरिकामा अग्रणी हुन् । 

तर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका दाहिने हात एलन मस्कको एक्स ए आईसँग बाँकी अन्य प्रतिस्पर्धी झस्किएका छन् । मस्कको हातमा सम्पूर्ण सरकारी गोप्य सूचना छ । उनीसंग अमेरिकी रक्षा मन्त्रालयलाई सल्लाह दिने मात्र होइन, चाहेको कागजात जाँचबुझ गर्नेसमेत हैसियत छ । यस अवस्थामा स्वार्थको द्वन्दको मुद्दा उठ्नु स्वाभाविक हो । गुगलको पेण्टागन र अमेरिकी स्पेस एजेन्सी (नासा) सँग अर्बौं डलरको कारोबार छ । मस्कले चाहेको अवस्थामा यो धरापमा पर्न सक्छ । यही बुझेर हुनुपर्छ, एप्पलले मस्कको कम्पनी स्टार लिंकसँग आफ्ना उपभोक्तालाई निशुल्क इन्टरनेट सुविधा दिने महत्वाकाँक्षी योजनामा सहकार्य गर्ने प्रस्ताव राखेको छ । एन्भिडियासँग मस्कको सम्बन्ध अमिलो थियो, तर अब ऊ मस्कको ए आई कम्पनी एक्स ए आईमा लगानी गर्न राजी भएको छ । 

बिल गेट्स र मस्क दुई विपरीत ध्रुवका व्यक्ति हुन् । मस्क उथलपुथलमा बिश्वास गर्छन् । बिल गेट्स परिस्थितिको गम्भीर विश्लेषण गर्दै बिस्तारै पाइला चाल्ने मान्छे हुन् । डोनाल्ड ट्रम्पले चुनाव जितेपछि गेट्सले नवनिर्वाचित राष्ट्रपतिसँग तीन घण्टा लामो दिवाभोज गरेका थिए । उनले त्यो बेला ट्रम्पलाई बैदेशिक सहायता नरोक्न अनुरोध गरे तर मस्कले ट्रम्पलाई गेट्सको सल्लाह सुन्न दिएनन् । ट्रम्पमाथि गेट्सको जोर चलेन । उनी अझै आफ्नो फाउण्डेसनमार्फत अमेरिकी सरकारसँग मिलेर अफ्रिकामा आफूले गर्दैआएको काम सुचारु राख्न प्रयासरत छन् तर मस्क तगारो भएर उभिएका छन् । गेट्स र मस्कको सम्बन्ध चिसो छ । गेट्स पर्ख र हेरको रणनीतिमा भए पनि ‘ए आई’ को दौडमा मस्कभन्दा पछाडि परेका छन् । 

मस्क बलिया भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प उनको दाहिना छन् । उनको शपथ ग्रहणमा मस्कले गरेको नाजी सलामले दुनियाँ झस्किएको छ । मस्क मंगल ग्रहमा मानव बस्ती बसाल्ने सपना देख्दैछन् । जर्मन आप्रवासीका सन्तान डोनाल्ड ट्रम्पमा पनि हिटलरले रुचाएको आर्यन रगत बग्दैछ । 

प्रविधिको विकासले अब कुनै तानाशाहको प्रतिरुप तयार गर्न क्लोनिङ्ग वा रगत र छालाको आवश्यकता पर्ने युग पुरानो भैसकेको छ । यसको ठाउँ कृत्रिम बौद्धिकताले लिएको छ । आफ्नो एक्स ए आई कम्पनीलाई मस्क सरकारी गोप्य सूचनाको बलमा बजारका अन्य प्रतिस्पर्धीभन्दा छरितो ढंगले अगाडि बढाउने स्थितिमा छन् । 

डोनाल्ड ट्रम्पमा हिटलरको प्रतिविम्ब देखिएको कुरा युरोपका नेताहरु सार्वजनिक रुपमै भन्न थालेका छन् । पैसा र प्रविधिले सम्पन्न मस्क हिटलरका डाक्टर मेंगेलको रुपमा प्रकट भए भने विश्वको शक्ति सन्तुलन कस्तो होला ? यो भविष्यवाणी होइनतर सचेत मनुष्यले वस्तुगत विश्लेषण गर्न सक्छ । डोनाल्ड ट्रम्प, एलन मस्कको सहयात्रा र कृत्रिम बौद्धिकताको बिस्तार जति लामो र फराकिलो हुन्छ, मानव सभ्यता उति नै संकटमा पर्ने निश्चित छ ।
 

टिप्पणीहरू