कक्षा १२ को रिजल्ट नआउँदै त्रिविद्धारा भर्नाको सूचना

कक्षा १२ को रिजल्ट नआउँदै त्रिविद्धारा भर्नाको सूचना

त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा सार्वजनिक नहुँदै स्नातक तहमा भर्नाबारे सूचना निकालेको छ । शैक्षिक सत्र २०८०–८१ का लागि स्नातक तहमा नयाँ भर्ना खुलाइएको हो । 

त्रिवि शिक्षाध्यक्षको कार्यालयले आज सूचना जारी गर्दै मानविकी तथा सामाजिक, व्यवस्थापन, शिक्षा संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानहरुले साउन २८ गतेदेखि फारम वितरण गर्ने जानकारी दिएको छ । 

सूचनामा भनिएको छ,‘मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षा संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरुमा शैक्षिक वर्ष २०८०–८१ का लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना निम्नानुसार हुने भएकोले सम्बन्धित सबै संकाय, संस्थान, क्याम्पस तथा विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

भदौ मसान्तसम्म विद्यार्थीले फारम भरेर सम्बन्धित क्याम्पसमा बुझाइसक्नुपर्ने कार्यालयले जनाएको छ । विद्यार्थीले आवेदन दिँदा फारमसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ । 

त्यस्तै, मंसिर ५ गतेदेखि कक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ । क्याम्पसहरुले प्रकाशित तालिकाअनुसार विद्यार्थी भर्ना, कक्षा र परीक्षा सञ्चालन गराई सम्बन्धित निकायहरुलाई जानकारी गराउनुपर्नेछ । यता, राष्ट्रिय परीक्षा बोर्डले साउनको अन्तिमतिर मात्र कक्षा १२ को नतिजा सार्वजनिक गरिने जनाएको छ ।

टिप्पणीहरू