बस्तीमा बाढी पसेपछि मेयरद्वारा सहयोगको अपिल
घरभित्र बाढीको पानी पसेर नगरबासीको बिचल्ली भएपछि कैलालीको भजनी नगरपालिकाका मेयर केवल चौधरीले सहयोगका निम्ति अपिल गरेका छन् । गत सोमबार देखिको निरन्तर वर्षाका कारण वडा नम्बर ३ र ८ डुबानमा परेपछि उनले विभिन्न सरकारी, गैरसरकारी संघ संस्था, निजी क्षेत्र, नागरिक समाजसँग सहयोगका लागि आग्रह गरेका हुन् ।
बाढीका कारण अधिकांश घरबारविहीन भएको उल्लेख गर्दै उनले दैनिक छाक टार्नसमेत स्थानीयलाई समस्या परेको बताए । विस्थापित नगरबासीलाई हुलाकी राजमार्ग, विद्यालय, सामुदायिक भवनलगायत सुरक्षित स्थानमा राखिएको छ । भजनीमा वर्षेनी बर्खाको समयमा बाढीले बितण्डा मच्चाउने गरेको छ ।
बाढी र डुबानका कारण उक्त नगरमा करोडौंको क्षति हुने गरेको छ । कान्द्रा र काढा नदीमा पानीको बहाव बढेपछि ती वडाहरु चुर्लुम्मै डुबानमा पर्ने गरेका छन् । बाढीको जोखिम भएका स्थानका बासिन्दा सडकमा पाल टाँगेर बसिरहेको नगरपालिकाका सूचना अधिकारी चन्द्रदेव भट्टले बताए ।
उनका अनुसार अधिकांश स्थानीयको घरभित्र पानी पसेको छ । यता, बाढीले धानबालीसमेत सखाप पारेको उनले जानकारी दिए । ‘पानीको सतह अलि कम हुँदै गएको छ । तैपनि घर फर्किन सक्ने अवस्था छैन । अधिकांश सडकमै पाल टाँगेर बस्नुभएको छ । खतरा अझै हटिसकेको छैन । मानवीय क्षति भने भएको छैन’, उनले भने ।
टिप्पणीहरू