मुख्य "सुन तस्कर" राकेशको १० वर्षमा ३०० पटक विदेश जाउआउ
क्विन्टल सुन प्रकरणमा मुछिएका राकेश अडुकिया विदेश भागेका छन् । नेपालमा जन्मेका र हङकङबाट जारी भारतीय राहदानी बोकेका उनी एकाएक बेपत्ता भए पनि छोरा रोहन अडुकिया भने हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
राकेशले सन् २०१० को जुलाई ३ मा चीनको विशेष प्रशासनिक क्षेत्र हङकङस्थित भारतीय महावाणिज्य दूतावासले जारी गरेको राहदानी प्रयोग गर्दै आएको बुझिएको छ । उनले पुरानो राहदानी नम्बर जेड २०पी९८१३ को म्याद नसकिँदै नयाँ लिएर प्रयोग गर्न थालेको समेत खुलेको छ ।
पुरानो राहदानीको म्याद २०२० जुलाई ४ मा नसकिँदै २०१८ जुलाई १० मा जेड ५०९७७३९ नम्बरको नयाँ राहदानी पुनः हङ्गकङ्गबाटै जारी गराएका उनको १० वर्षे राहदानीको म्याद आगामी २०२८ जुलाई ९ तारिखसम्म छ ।
राकेशले प्रयोग गरेका ती दुई राहदानीका आधारमा उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो १० वर्षमा २८३ पटक विदेश जाउआउ गरेको देखिएको छ । २०७० चैत २२ देखि २०८० असार २० गतेसम्म १४२ पटक बाहिरिएका र १४१ पटक नेपाल भित्रिएका थिए । त्यसमध्ये दोस्रो राहदानी २०७७ पुस २४ देखि २०८० असार २० गतेसम्म झण्डै तीन वर्षको अवधीमा ३६ पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग गरेको पाइएको छ ।
अध्यागमनलाई उद्धृत गर्दै स्रोत भन्छ, ‘अडुकिया पछिल्लो समय १५ पटक दुबई, १३ पटक हङ्गकङ्ग, चार पटक नयाँ दिल्ली, दुई पटक बेलायत र दुई पटक बैंकक गएका थिए । १३ पटकको हङकङ यात्रामा आठ पटक काठमाडौं–हङ्गकङ्ग रुट प्रयोग गरे । पाँच पटक अन्यत्रको रुट समाते ।’
केन्द्रीय अनुसन्धान ब्युरोको प्रारम्भिक अनुसन्धानमा राकेशले हङकङमा कम्तीमा तीन दिनदेखि बढीमा हप्ता दिनसम्म बिताउने गरेको पाइएको छ । दिल्लीमा औसत १० दिन र दुबईमा एक पटक ५२ दिनसम्म बसेको रेकर्ड पनि फेला पारिएको छ ।
काठमाडौंबाट हङकङ जाउआउ गर्न चाहनेलाई नेपाल एअरलाइन्स र क्याथे प्यासिफकको नियमित उडान छ । त्यस्तै चीनका छन्तु र ग्वाङझौबाट पनि ट्रान्जिट भएर आउँदा निकै सस्तो र छोटो रुट हुन्छ । तर,राकेशले निकै लामो रुट हङकङबाट दुबई र त्यहाँबाट काठमाडौं आउजाउ गर्नुले पनि घटनालाई थप शंकास्पद बनाइदिएको छ । उडान समय र खर्चको हिसाबले उक्त रुट र उडान निकै महँगो पर्छ । सम्भवतः हङ्गकङ्ग गएको सम्बन्धमा नेपाली सुरक्षा निकाय र अन्य सरकारी निकायले शंका नगरुन् भन्ने देखाउन अडुकियाले नयाँ रुटको जुक्ति निकालेको हुनुपर्छ । अवैध तवरले सुन भित्र्याउने खेलमा वर्षौंदेखि लागिपरेका उनलाई एकाध हजार महँगो विमान टिकट र होटल बसाईको कुनै मतलब हुने कुरो पनि भएन ।
यही साउन ३ गते मंगलबार राजश्व अनुसन्धान विभागको टोलीले पक्रेको सुनसहितको मोटरसाइकल र स्कुटरको ब्रेक सु असार २९ गते राति हङकङबाट ३३ कार्टुन आएको थियो । क्याथेको विमानबाट कार्गोमा आएका ती सामान असार ३० गते विमानस्थलस्थित भन्सार कार्यालयमा दर्ता भएको देखिन्छ । भोलिपल्ट असार ३१ गते ३३ कार्टुनमध्ये १५ कार्टुन दोलखा इन्टरप्राईजेजले छुटाएर लगेको र साउन १ गते १० कार्टुन सोही कम्पनीले भन्सार छुटाएको थियो । तर, साउन ३ गते बाँकी आठ कार्टुन भन्सार छुटाएर लैजाने क्रममा राजस्व अनुसन्धान विभागको टोलीले नजिकैको चक्रपथबाट नियन्त्रणमा लिएको हो ।
यी सामान राकेश अडुकिया हङ्गकङ्गबाट पछिल्लो पटक नेपाल आएको नौ दिनमा भित्रिएको थियो । आफू नेपाल वायुसेवा निगमको उडान प्रयोग नगर्ने तर भित्र सुन राखेर ल्याइएका ब्रेकसु प्रायः क्याथे प्यासिफिकको उडानमा ल्याउनुले पनि उनले आफूलाई शंकाको घेराबाट टाढा राख्न खोजेको देखिन्छ ।
यता प्रहरीको अनुसन्धान ब्युरोले दोलखा इन्टरप्राइजेज र रेडी ट्रेडर्सका सञ्चालक सामान्य हैसियतका दिलिप भुजेलसँग बयान लिएको छ । भुजेलले बताएको हुलिया अडुकियासँग मेल खाएको छ । उनका सामान छुटाउने काममा रेडी ट्रेडर्सका भन्सार एजेन्टको रुपमा खोटाङ्गका दिनेश राई, परिवर्तन राई,हर्कराज राई,राजेन्द्रकुमार राईलगायत संलग्न भएको घटनाक्रमले पनि अडुकिया सुन तस्करीका मास्टर माइण्ड हुन् भन्ने निश्कर्षमा प्रहरीको सिआइबी पुगेको हो ।
टिप्पणीहरू