उपराष्ट्रपतिको औपचारिक चीन भ्रमणअघि सुरक्षा प्रबन्धमा कडाइ

उपराष्ट्रपतिको औपचारिक चीन भ्रमणअघि सुरक्षा प्रबन्धमा कडाइ
सुन्नुहोस्

उपराष्ट्रपति रामसहायप्रसाद यादव भोलि चीन भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ अपरान्ह साढे ४ बजे काठमाडौंबाट युन्नान प्रान्तको खुनमिङतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । 

खुनमिङमा आयोजना गर्न लागिएको सातौं चीन–दक्षिण एसिया एक्सपोमा विशेष अतिथिको रुपमा सहभागी हुन जान लाग्नुभएका उपराष्ट्रपतिलाई लिन चीनले विशेष विमान नै पठाउने भएको छ । चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ विमानमा उहाँको १५ जनाको टोली रहने उच्चस्तरीय स्रोतले बताएको छ ।

उडान नम्बर एमयु ९६१८ मा उपराष्ट्रपति यादव अपरान्ह ४ बजेर २६ मीनेटमा काठमाडौंबाट प्रस्थान गर्नुहुने छ । त्यस अवसरमा झण्डै आधा घण्टा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान स्थगित गर्न नोटाम जारी हुने छ ।

त्यसअघि उहाँको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गर्नेछ भने, अति विशिष्ट कक्षमा औपचारिक बिदाई कार्यक्रम राखिएको छ । विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बे नम्बर १० मा राखिने छ । सँगैको बे नम्बर ११ लाई खाली राखिने विमानस्थल कार्यालयको तयारी छ । त्यसका लागि आवश्यकताअनुसार रातो कार्पेटको व्यवस्थापन गर्न नेपाल वायुसेवा निगमलाई भनिएको छ ।

उपराष्ट्रपतिको भ्रमणका क्रममा आवश्यक सुरक्षा सतर्कता अपनाउन सेनाको १४ नम्बर ब्रिगेड,कालीदल बटालियनले संयोजनकारी भूमिका निभाउने छ । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय सतर्कता केन्द्रले त्यसमा आवश्यक प्रबन्ध मिलाउनेछन् ।

सेनाको उक्त बटालियनले विमानस्थल,विमानभित्र र बाहिरको सुरक्षा प्रबन्ध,अति विशिष्ट कक्षको सुरक्षाको निम्ति प्रशिक्षित कुुकुरको समेत प्रयोग गर्नेछ । उपराष्ट्रपति स्वदेश फिर्ताको दिन पनि सोही बमोजिमको सुरक्षा सतर्कता अपनाउन आवश्यक व्यवस्था मिलाइएको बुझिएको छ ।
 

टिप्पणीहरू