किन यस्तो लाग्छ हामीलाई कहिलेकाहीं
हामीले बनाउन खोजेको संस्कृति कस्तो हो ? चाहे राजनीतिमा होस् अथवा कर्मचारी प्रशासनमा होस् अथवा अन्य नियुक्ति अथवा सरुवा, बढुवामा नै किन नहोस् काङ्ग्रेस, एमाले, माके तथा नेकपा (एस) लगायत मधेसवादी दलहरुले समेत तत् तत् क्षेत्रमा अत्यन्तै विवादास्पद र बदनाम भएका, देश र समाजले खराब र अनैतिक भनेर चिनेका मान्छेहरुलाई नै च्याप्ने गरेको पाउँछौं ।
काङ्ग्रेसमा, एमालेमा, माकेमा, मधेसवादी दलहरूमा कस्ता कस्ता मान्छेले राजनीतिक नेतृत्व गर्ने, लाभको पद प्राप्त गर्नेदेखि अन्य ठाउँहरुमा रहेर काम गर्ने अवसर पाए भनेर लेख्ने हो भने एउटा किताब नै बन्न सक्छ । गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तै छ । हालसालैको नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका बालकृष्ण खाँणप्रति काङ्ग्रेसको प्रेम, टोपबहादुरप्रति एमालेको प्रेम तथा ल्हार्क्याल प्रति माकेको प्रेम यसको ताजा उदाहरण हुन् । माओवादीको अवस्था अहिले नीलो स्यालको जस्तो बन्न पुगेको छ । यो भनेको ठूलो बदनाम र अविश्वास हो ।
जनताबाट चुनिएका मानिसहरुको काम भनेको जनताको हितमा नीति तथा ऐन नियम र कानुन बनाउने हो । देश, समाजलाई विकास र समृद्धिको बाटोमा हिँडाउने हो तर यतापट्टि पटक्कै ध्यान गएको देखिन्न । देउवा प्रधानमन्त्री बने भने गृहमन्त्री र अर्थमन्त्री को बन्छ भनेर पहिल्यै अनुमान गर्न सकिन्छ । आयल निगममा को नियुक्त हुन्छ, एयरपोर्ट भन्सारमा को, आइजिपी को, राजदूतमा को अर्थात् हरेक नियुक्ति र सरुवा–बढुवामा को को पर्छन् भनी पहिल्यै तोकेर भन्न सकिन्छ । देउवामात्रै होइन यो कुरा सबैमा लागू हुन्छ । किन यस्तो गर्छन् होला ? के देश र जनताको उन्नतिका लागि यस्तो गरेका हुन् त? होइनन् । उसोभए यस्तो किन गर्छन् ?
माधव नेपाल, बाबुराम र प्रचण्ड स्वयंलाई कार्वाहीको माग गर्ने हिम्मत यस्तै अलोकतान्त्रिक गतिविधिले प्रदान गरिरहेको छ ।
हुन त हामी लोकतान्त्रिक प्रणालीमा छौं तर यो प्रणालीको फाइदा आम मानिसको पहुँचभन्दा धेरै टाढा छ । यसबाट मुठ्ठीभर मान्छेले फाइदा लुटिरहेका छन् । आम मानिसलाई यसले फाइदा गरेको छैन । लोकतान्त्रिक प्रणालीमा जनताले पाउनुपर्ने कुरा भनेको गाँस, बास र कपास त छँदैछ तर त्यसको अलावा अरु धेरै कुरा छन् । जनताले पाउनुपर्ने अन्य कुरा भनेको शिक्षा, स्वास्थ्य, रोजगार, बिजुली, पानी, सडक, मल बीउ, सुरक्षा आदि आदि हुन् ।
राज्यले यी कुनै पनि कुरा जनतालाई उपलब्ध गराउन सकेको छैन तर राजनीति र प्रशासनमा रहेका र तिनीहरुको नजिकमा रहेका मानिसलाई यी सबै कुरा लगभग उपलब्ध छ । यिनीहरु नै हुन् केही मुठ्ठीभर मानिस । यसको फाइदा यिनैलाई प्राप्त छ । यो तप्काका मानिसहरुलाई देशमा पूर्ण समाजवाद छ भन्दा हुने अवस्था छ । यिनीहरुले कसरी फाइदा लुटिरहेका छन् भन्नेकुराको सानो उदाहरण हेरौं । यो तल्लो तहको उदाहरण हो । धेरैजसो पालिकाभित्र सडकहरु भत्किएका छन्, साँघुरा छन्, पानीको निकास नभएर जमेको छ, जतासुकै फोहरको डुङ्गुर थुप्रिएको हुन्छ त्यसप्रति मेयरहरुलाई चिन्ता छैन, वडाध्यक्षहरुलाई पनि मतलब छैन ।
तर उनीहरुको घरअगाडिको बाटो भने पिच बनाएका छन्, पानी नजम्ने बनाएका छन्, फोहर उठाउने ब्यवस्था मिलाएका छन् र यस्तो गर्न सरकारी अड्डाहरुले समेत सहयोग गरिरहेका छन् । केही समय पहिले खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष बनेका थिए । उनी काठमाडौंमा बसोबास गर्थे र अहिले पनि बस्छन् । तर सडक बिभागले उनको गाउँको घर जहाँ उनी बस्दै बस्दैनन् त्यहाँसम्म पुग्न मूल सडकमा जोडेर बाटो फराकिलो र पिच गरिदियो जबकि उनको घरनजिकैको स्कूलमा जाने जीर्ण बाटो बनाउनुपर्ने जरुरत थियोे । यसरी राजनीतिक र प्रशासनिक मान्छेहरुको अनैतिक साँठगाँठले देशको दोहन भैरहेको छ । बिकास र समृद्धिको अपहरण गरिरहेका छन् । भागशान्ति जय नेपाल यसै भनेको होला र?
खासमा लोकतन्त्र हामीले सोचेजस्तो र चाहेजस्तो बनेन । यो लुटतन्त्रमा रुपान्तरण भएको छ । कुनै पनि निर्वाचनमा भोट हाल्न पाउनुमात्रै लोकतन्त्र होइन । सो निर्वाचनमा उम्मेदवार बन्न पाउनुमात्रै पनि लोकतन्त्र होइन । घरखेत नबेचीकन, ऋण नकाढीकन चुनाव लड्न सक्ने परिस्थिति हुनु राजनीतिक लोकतन्त्र हो । के अहिलेको प्रणालीमा वडाध्यक्षको उम्मेदवारी दिएर पैसा खर्च नगरी चुनाव जित्न सकिन्छ ? सकिन्न । यो लोकतान्त्रिक प्रणाली चुनावदेखि चुनावसम्मको गोलचक्करमा गएर रोकिएको छ । ऋण काढेर खर्च गर्ने र जित्ने, जितेपछि ऋण तिर्न र अर्को पटक चुनाव लड्न पैसा कमाउने । यसको निम्ति पैसा कमाउन मालदार ठाउँमा आफ्ना मान्छेहरुलाई पठाउने, ठेक्कापट्टामा हिस्सेदारी, तस्करहरुसंग साँठगाँठ गर्नुपर्ने तहमा हामीले लडेर ल्याएको लोकतन्त्र पुगेको छ ।
टमाटर महङ्गो भए पनि, चामल महङ्गो भए पनि, ग्यास महङ्गो भए पनि, शैक्षिक शुल्क महङ्गो भए पनि, स्वास्थ्य उपचार महङ्गो भए पनि कसैलाई चिन्ता र वास्ता छैन । जनताको लोकतान्त्रिक अधिकारलाई बेवास्ता गरिरहेको अहिलेको लोकतन्त्रले चारैतिर असन्तोष पैदा गरिरहेको छ । यसले दक्षिणपन्थी तथा प्रतिगामी तत्वहरुलाई सल्बलाउने वातावरण निर्माण गरिरहेको छ । माधव नेपाल, बाबुराम र प्रचण्ड स्वयंलाई कार्वाहीको माग गर्ने हिम्मत यस्तै अलोकतान्त्रिक गतिविधिले प्रदान गरिरहेको छ तर यसतर्फ उचित ध्यान पुगेको देखिन्न ।
हामीले बनाउनुपर्ने संस्कृति यस्तो होइन । धेरै कुरा नगरिकन न्युनतम लोककल्याणकारी गुणसहितको सामाजिक, राजनीतिक तथा आर्थिक संस्कृति हो, व्यवस्था हो । राजनीतिमा पनि, प्रशासनमा पनि र अन्य क्षेत्रमा पनि कम्तीमा स्वच्छ छवि भएका मान्छेहरुलाई, काममा राम्रो दक्षता भएका मान्छेहरुलाई र न्युनतम नैतिकता भएका मान्छेहरुलाई नै जिम्मेवारीको तहमा लैजानुपर्छ । यस्ता मान्छेहरुबाट नै हो असल संस्कृतिको निर्माण गर्ने, सुशासन दिने र बिकासको बाटोमा अघि बढ्ने । गणेश लामालाई काङ्ग्रेसमा लगेर वा आलमका आफन्तलाई टिकट दिँदा काङ्ग्रेसको बदनामी नै भएको हो ।
चरि, चक्रेहरु एमालेमा हुँदा एमालेको पनि बदनामनै भएको हो । मनाङ्गेलाई एकीकृत समाजवादीले भिœयाउँँदा पनि बदनामी भइरहेकै छ र अहिले माकेले ल्हारक्याललाई काखी च्याप्दा झन् बदनामी छ । घरबेटी वा अरुको कारणले कति बदनामी भयो त्यसको त कुरै नगरौं । नेतृत्वको जीवनको सबै पक्ष पूर्ण पारदर्शी हुनुपर्छ र त्यो नैतिक पनि हुनुपर्छ । यस्तो नेतृत्वले मात्रै लोकतन्त्रको रक्षा गर्न, यसलाई समृद्ध बनाउन सक्छ । असल संस्कृतिको निर्माण गर्न सक्छ, समाजलाई गतिशील, अग्रगामी र नैतिक बनाउन सक्छ । एउटा भनाइ प्रसिद्ध छ–
कुनै पनि साहसिक काम गर्न पहलकदमी लिने एउटै मानिसले हो र त्यो मानिस भनेको देशको नेतृत्व गरिरहेको मान्छे नै हो । अरु त उसको कामको गुणवत्ता हेरेर त्यसमा सामेल हुने हुन् । अर्थात त्यो समयको कामको जस र अपजस जे आए पनि पाउने मुख्य मान्छेले नै हो । त्यसकारण इतिहास पनि उसैको लेखिन्छ । माओ र देङ्गलाई हेरेर पनि जान्नुपर्ने कुरा हामीले भन्दिनुपर्दा के भएर होला भनेर मनमा प्रश्न उठिरहने रहेछ ।
टिप्पणीहरू