लोकेन्द्रबहादुरले बैठक राखेपछि राप्रपाको किचलो छरपष्ट,रविन्द्र मिश्रले भने- वाहियात !
राजा फर्काउने अभियानमा रहेको पूर्वपञ्चहरुको पार्टी राप्रपामा आन्तरिक किचलो चर्किएको छ । अध्यक्ष राजेन्द्र लिङ्गदेनले पुराना नेताहरुलाई 'बाइपास' गरेर पार्टी सन्चालनमा एकलौटी गरेको भन्दै असन्तुष्ट खेमाका नेताहरु छुट्टै भेलामा जुटेपछि किचलो चर्किएको हो ।
निकै अगाडिदेखि भित्रभित्रै गुम्सिएको असन्तुष्टि पछिल्लो समय बाहिरै प्रकट हुन थालेको छ । राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भेटघाट भन्दै बोलाएको बैठकमा नेतृत्वको कडा आलोचना भएको बताइएको छ । निर्देशन समितिमा रहेकाहरुलाई बोलाईएको बैठकमा महामन्त्री धवलसमशेर राणाले यथास्थितिबाट पार्टी अघि बढ्न नसक्ने चेतावनी दिएपछि राप्रपा विभाजनको डिलमा पुगेको अनुमानसमेत गरिएको छ ।
राणाले विधि मिचेर मनपरी र स्वेच्छाचारी ढङ्गले नेतृत्व अघि बढेकोले यो स्वीकार्य हुन नसक्ने प्रष्ट धारणा राखेको बैठक स्रोतले बताएको छ । निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, नवराज सुवेदीले पनि पार्टी विधिसम्मत ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिँदै त्यसो हुन नसके समस्या उत्पन्न हुनसक्ने धारणा राखेको बताइन्छ ।
संस्थापक नेता चन्दले धेरै साथीहरुको गुनासो आइरहेकाले किन सुनवाइ भएन भन्नेमा आफू चिन्तित भएको भनाई राखेका थिए । बैठकमा दिपक बोहरा, उद्धव पौडेल,जयन्त चन्द,नीलकन्ठ काफ्लेलगायतले बोलेनन् भने रविन्द्र मिश्र र राजेन्द्र गुरुङले मध्यमार्गी धारणा राखेका थिए । आमन्त्रण गरिएपनि पशुपतिसमशेर राणा,बुद्धिमान तामाङ, बिक्रम पाण्डे,भुवन पाठक,कुन्ती शाही भने बैठकमा गएनन् ।
यता, उक्त बैठकलाई लिएर सार्वजनिक टिप्पणी हुन थालेपछि वैकल्पिक राजनीतिको मार्ग त्यागेर चुनावको मुखमा राप्रपा प्रवेश गरेका मिश्रले फेसबुकबाट प्रष्टीकरण दिएका छन् । बैठक कुनै गुटको भेला नभई संस्थापक नेताले छलफलका लागि बोलाएपछि सामान्य भेटघाट गरेको उनको दावी छ ।
'वाहियात! स्वास्थ्यका कारण घरबाट बाहिर हिँडडुल गर्न गाह्रो पर्ने झण्डै ८५ वर्ष उमेरका पार्टीका एकमात्र जिवित संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले “यसो भेटघाट र छलफलका लागि मैले ‘निर्देशन समिति’ मा रहेका साथीहरूलाई शनिबार ३ बजे बोलाउँदै छु, आउनोस् न है” भन्नुभएपछि नजाने भन्ने कुरै थिएन । शिष्टताको लागि पनि जानै पर्थ्यो', उनले लेखेका छन् ।
भेटघाटमा हाँसठट्टादेखि, देशको राजनीति, पार्टीको स्थिति र पारिवारिक कुराकानी भएको मिश्रले बताएका छन् । 'त्यति राम्रो भेटघाटलाई गुटवन्दी भनेर सूचना दिने पनि कस्ता होलान्, छाप्ने पनि कस्ता होलान्!', उनले भनेका छन् । जनाएका छन् ।
मिश्रले त्यसो भने पनि राप्रपाका अर्का एक माथिल्लो तहका नेताले भने पार्टीमा विवाद रहेको स्वीकार गरे । मुख्य नेतृत्व सत्तामा जाने तयारीमा लागेपछि असन्तुष्टि बढेको उनको भनाई छ ।
राजेन्द्र लिङ्देन नेतृत्वमा आएपछि पार्टी संचालनमा एकलौटी गरेको, बिधि नमानेको, स्वेच्छाचारी र सर्वसत्तावादी शैली अपनाएको, पुराना योगदान दिएकाहरुको अवमूल्यन गरेको जस्ता गुनासो राप्रपामा सुनिने गरेको छ । लिङ्गदेनले महाधिवेशनबाट पारित सत्ता केन्द्रित नहुने नितिलाई लत्यायर सत्तालिप्सा देखाएको, एजेन्डा स्थापित गर्न आन्दोलन गर्न रुचि नदेखाएको, सबैलाई समेट्न भन्दा एकाङ्की रुपमा अघि बढेको जस्ता बिषयले पनि पार्टीमा असन्तुष्टिको बिजारोपण गरेको नेताहरु बताउँछन् ।
टिप्पणीहरू