सुन तस्करीमा संलग्नताबारे महराका छोराले मुख खोले
पूर्वसभामुख तथा सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोराले सुन तस्करी प्रकरणमा एकोहोरो आफूहरुमाथि आरोप लगाएर चरित्र हत्या गर्न खोजिएको बताएका छन् ।
इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर सुन ल्याएको प्रकरणमा आफ्नो र बाबु कृष्णबहादुरको संलग्नताबारे समाचार प्रकाशित भएको विषयलाई लिएर उनको यस्तो प्रतिक्रिया आएको हो । एकोहोरो आरोप लगाएर आफूहरुको राजनीतिक जीवन सिध्याउने प्रयास भएको पनि राहुलले बताए ।
राहुलले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् :
हाम्रो विषयमा केही दिनयता विभिन्न सञ्चारमाध्याममा बारम्बार आइरहेका आरोपहरुप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौं । पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भर्त्सना गर्दछौं।
सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबर्जस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो । संचारमाध्यम बाट एकहोरो आक्रमण हुनु को पछाडी हामीले बुझ्न सकेका छैनौ । हामीले यसअघि नै बिषय स्पष्ट पारिसकेका छौं कि कोही व्यक्तिसँग सम्पर्क हुदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो ।
राज्यको निकायले अनुसन्धान गरिरहेको बिषयलाई हामीले पूर्ण रुपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौं र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौ ।
टिप्पणीहरू