सीआईबीको हिरासत कक्ष ‘हाउसफूल’

सीआईबीको हिरासत कक्ष ‘हाउसफूल’
सुन्नुहोस्

लगातार एकपछि अर्को काण्डका आरोपीहरु समातिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासत कक्ष खचाखच भएको छ । 

ललिता निवास जग्गा किर्ते ठगी, पछिल्लो सुन तस्करी, शिवशिखरलगायत विभिन्न सहकारी ठगी प्रकरण र नक्कली प्रमाणपत्रधारीका कारण सीआईबीको हिरासत कक्ष भरिभराउ भएको छ । पछिल्ला चार वटा प्रकरणमा संलग्न भनिएका कुल ४८ आरोपीलाई सीआईबीले पक्रेको छ । तीमध्ये ललिता निवास जग्गा अनियमितता प्रकरणका मात्रै २० जना हुन् ।

क्विन्टल सुन तस्करी भनिएको प्रकरणमा मुछिएका १७ जनामध्ये केहीलाई पनि सोहीे हिरासत कक्षमा राखिएको छ । राजस्व अनुसन्धान विभागले सीआईबीको जिम्मा लगाएपछि उनीहरु त्यहाँ पुगेका हुन् ।

यता शिवशिखर सहकारीका आरोपितमाथि भइरहेको अनुसन्धान र छानबिनमा तानिएका र नक्कली प्रमाणपत्रधारीको आशंकामा पक्राउ परेका तीनजना चिकित्सकलाई समेत सीआईबीले हिरासतमा राखेको छ । तीन चिकित्सक गत बिहीबार समातिएका थिए । 

तर पक्राउ परेका ४८ जनामध्ये २० जनामात्र सीआईबीको महाराजगञ्जस्थित हिरासत कक्षमा रहेको जनाइएको छ । पक्राउ परेका आरोपीलाई थुन्न सीआईबीको हिरासत कक्ष साँघुरो हुँदा त्यहाँ ठेलमठेलको अवस्था देखिन्छ । 

पक्राउ परेका अन्य २८ जना आरोपीलाई सीआईबीले राजधानीका विभिन्न प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान जारी राखेको हो । पछिल्लो पटक पक्राउ परेका चिकित्सकहरुलाई पनि अन्यत्रै राखिएको छ ।

प्रहरी स्रोतका अनुसार २८ जना आरोपीलाई दरबारमार्ग, महाराजगञ्ज र स्रोहखुट्टे प्रहरी वृत्तमा राखिएको छ ।

टिप्पणीहरू