कम्पनीको नाममा बीमा जोड्न पाईंदैन : बीमा प्राधिकरण

कम्पनीको नाममा बीमा जोड्न पाईंदैन : बीमा प्राधिकरण

नेपाल बीमा प्राधिकरणले स्वीकृति नलिई बीमा प्रकृतिका कुनै पनि व्यवसाय सञ्चालन नगर्न आग्रह गरेको छ । बीमा ऐन २०७९ बमोजिम इजाजत नलिई कतिपय संघसंस्थाले बीमा व्यवसायसँग सम्बन्धित कारोबार गरेको पाइएपछि प्राधिकरणले त्यसबारे जानकारी गराएको बताइएको छ ।

सो ऐनको दफा २४ ले प्राधिकरणबाट इजाजत पत्र नलिई कसैले बीमा, पुनर्बीमा, बीमाकोषजस्ता शब्द प्रयोग गरी वा नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बीमा व्यवसायसम्बन्धी कुनै पनि कारोबार, व्यवसाय, उद्योग वा व्यापार गर्न–गराउन नहुने व्यवस्था गरेको छ । 

त्यस्तै, दफा १५३ मा बीमकबाहेक अन्य कसैसँग बीमा व्यवसायसम्बन्धी कारोबार गर्न नहुने उल्लेख छ । कतिपय संगठित संस्थाहरुले कानुनी प्रावधानविपरीत बीमासँग सम्बन्धित कार्य गरेको पाइएको प्राधिकरणले जनाएको छ । 

उक्त कार्यलाई बीमा कसूर मानिने प्राधिकरणको भनाई छ । त्यस्तो कार्य गर्नेलाई दण्ड र जरिवाना दुवै गरिने भन्दै प्राधिकरणले सचेतसमेत गराएको छ । 

‘कानुनी प्रावधानविपरीत हुने गरी बीमक बाहेकका संगठित संस्थाहरुले बीमा व्यवसायसँग सम्बन्धित कारोबारहरु गरेको देखिएको हुँदा त्यस्तो कार्य सोही ऐनको दफा १४० को उपदफा (१) को खण्ड (क) बमोजिमको बीमा कसूर मानिने र दफा १४१ को उपदफा (१) बमोजिम दण्ड जरिवाना हुन सक्ने’, आज प्रकाशित सूचनामा उल्लेख छ । 

त्यस्तै, आफ्नो कम्पनी, फर्म वा संस्थाको नाममा बीमा, पुनर्बीमा, बीमाकोषजस्ता शब्दको प्रयोग नगर्न प्राधिकरणले सुसूचित गराएको छ ।

टिप्पणीहरू