चौथो पटकसम्म निर्माण सम्पन्न नगर्ने ठेकेदारको सम्झौता तोडिने

चौथो पटकसम्म निर्माण सम्पन्न नगर्ने ठेकेदारको सम्झौता तोडिने

यातायात पूर्वाधार निर्देशनालयअन्तर्गत पूर्वाधार विकास कार्यालय, मोरङ्गले काठमाडौंको मैतीदेवीमा रहेको श्री श्रेष्ठ–रमन–एपेक्स जेभीसँगको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएको छ । चौथो पटक म्याद थप्दासमेत निर्माण कार्य सम्पन्न नभएपछि कार्यालयले ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएको छ । 

कार्यालयले विराटचोक–घिनाघाट सडक निर्माणको ठेक्का २०७६ असार २९ गते जेभीलाई दिएको थियो । २०७८ असार २८ गते काम सम्पन्न गर्ने सम्झौता भएपनि जेभीले विभिन्न बहानामा आलटाल गर्दै आएको थियो । गत असार २१ गतेसम्म चौथो पटक म्याद थप गरिएपनि हालसम्म निर्माण कार्य सम्पन्न नभएको कार्यालयले जनाएको छ । 

कार्यालयले आगामी १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित उपस्थित हुन जेभीका सम्बन्धित व्यक्तिलाई निर्देशन दिएको छ । 

सूचनामा भनिएको छ, ‘चौथोपटक गरी मिति २०८०–३–२१ सम्म म्याद थप गरिएको अवधिमा समेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ कुनै चासो नदेखाइएकोले सूचना प्रकाशनको मितिले १५ दिनभित्र कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अपडेट वर्क सेड्युल, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित सम्पूर्ण आधिकारिक व्यक्तिहरु यस कार्यालयमा उपस्थित हुन यो सूचना जारी गरिएको छ ।’

सूचना जारी गर्दासमेत बेवास्ता गरिएमा सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली २०६४ र ठेक्का सम्झौतामा प्रावधान भएबमोजिम ठेक्का सम्झौता तोडेर कालोसूचीमा राख्न पठाउने कार्यालयले भनाई छ । त्यस्तै, कार्य सम्पादन जमानत, अग्रिम भुक्तानी जमानत, धरौटीबापतको रकम जफत गर्नुका साथै बाँकी काम गर्न लाग्ने खर्च र निर्माणस्थल सुरक्षामा लाग्ने खर्चसमेत असुलउपर गरिने कार्यालयको चेतावनी छ ।

टिप्पणीहरू