नेपाली पहिचान खोज्दै थाइल्याण्डदेखि सिंहदरबारसम्मको यात्रा

नेपाली पहिचान खोज्दै थाइल्याण्डदेखि सिंहदरबारसम्मको यात्रा

थाई नेपाली संघ र गैरआवासीय नेपाली संघ थाइल्याण्डको एउटा प्रतिनिधिमण्डलले सभामुख देवराज घिमिरेसँग हालै भेटवार्ता गरेको छ । थाई नेपाली संघकी अध्यक्ष वासना राई, संरक्षक कुमार कार्की, एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत नेतृत्वको प्रतिनिधिमण्डलले सभामुख घिमिरेलाई भेटेरै ‘गैरआवासीय नेपाली परिचयपत्र’ उपलव्ध गराउन आग्रह गरेको छ ।

थाइल्याण्डमा झण्डै ९० हजार नेपालीभाषी बसोबास गर्छन् । अहिले त्यहाँ बसोबास गर्ने नेपाली दोस्रो विश्व युद्धताका म्यानमार हुँदै पुगेकाहरुको चौथो पुस्ता हुन् ।

नेपालीभाषीहरू थाइल्याण्डमा ‘नेपाली जीवन’ बाँचिरहेका छन् । उनीहरू आफूलाई नेपाली भनेरै चिनाउँछन् । त्यहाँका नेपालीभाषीले नेपालसँगको नाता टुटाउन नचाहेको देखिन्छ ।

नेपालमा नागरिकताको चलन नहुँदै प्रवासमा गएका म्यानमार, थाइल्याण्ड, मलेसिया र फिजीका नेपालीले नेपाल सरकारसँग ‘पिपुल अफ नेपाली अरिजन’ अर्थात् पीएनओ कार्ड उपलब्ध गराउन आग्रह गर्दै आएका छन् । नेपाल सरकारले आफूहरूलाई एनआरएनए कार्डमार्फत् नेपाली परिचय दिनुपर्ने थाई नेपाली संघका संरक्षक कुमार कार्कीको भनाई छ ।

‘सरकारलाई हाम्रो आग्रह छ– नेपाल सरकारले हामीहरूलाई एनआरएनए कार्ड देओस्, म्यानमार, थाइल्याण्ड, मलेसिया र फिजीका नेपालीको नागरिकतामा अहिलेपनि नेपाली वा गोर्खा लेखिएको छ । नेपाल सरकारले हामीलाई नेपालीमूलका मानिसको परिचय दिनुपर्छ,’ उनले भने ।

नेपालको तुलनामा निकै ठूलो थाइल्याण्डमा नेपाली अस्तित्वको जर्गेना गर्दैछन् नेपालीभाषीहरू । बर्सेनी नेपालबाट कलाकार बोलाएर सांस्कृतिक उत्सवमा रमाउँछन् । हप्तादिनसम्म तीज र तिहार पनि मनाउँछन् ।

परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न भिसा र अन्य सुविधाबाट बञ्चित हुनु परेको उनीहरुको गुनासो छ । नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउन परिचयपत्र आवश्यक भएको नेपाली संघ थाइल्याण्डकी अध्यक्ष वासना राईले बताइन् ।

थाइल्याण्डमा रहेका प्रत्येक नेपालीको आँखामा नेपाली सपना टल्किरहेको बताइन्छ । स्वादिष्ट सडक–खानादेखि पाँचतारे होटलसम्मै नेपालीहरू भरिभराउ छन् । समुन्द्रीतटदेखि टापुसम्मै काम तथा व्यवसाय गर्छन् । थाई कमाइले परिवारको गुजारा चलाउँछन् भने कतिपय साहुमहाजन पनि छन् ।

केही ट्याक्सी चलाउँछन् । कसैले सडकमा खाना बेच्ने काम गर्दै आएका छन् । सानातिना सटर पनि खोलेका छन् । घर–जग्गाको कारोबारमा जमेका छन् । महाजनको घरमा काम गर्छन् । कतिपय थाई विद्यालयमा पढाउँछन् । उद्योग, कलकारखानासम्मै नेपालीहरू पुगेका छन् ।

उनीहरु बैंकक, फुकेट, मेसाई, पटाया, चियाङमाई, होहिन र कसोमोईलगायत ठूला सहरमा नेपाली वंशजका आधारमा थाई नेपालीको रुपमा बसोबास गर्दै आएका छन् । तर सँधै नेपाली पहिचान खोज्दै भौंतारिन्छन् । अहिले नेपाली पहिचानको कागजपत्र माग्दै सिंहदरबारसम्म आइपुगेका छन् ।

टिप्पणीहरू