पत्रकार बचाउन परिवारको हारगुहार, नगद संकलन गर्दै महासंघ

पत्रकार बचाउन परिवारको हारगुहार, नगद संकलन गर्दै महासंघ

ब्रेन ट्युमरबाट पीडित रौतहटका पत्रकार फणि महतको उपचारार्थ आर्थिक संकलन शुरु गरिएको छ । नेपालमा उपचार सम्भव नहुँदा विदेश लैजान खर्च उठाउन थालिएको बताइएको छ ।  

एक वर्षभन्दा बढी समयदेखि काठमाडौको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भई शल्यक्रियासमेत गरिएका महतलाई पुनः सोही समस्या देखिएपछि चिकित्सकले नयाँ दिल्ली लैजान सुझाव दिएका थिए । हाल उनी भारतको नयाँ दिल्लीमा छन् । 

नेपालमा उपचार गरेर ३५ लाखभन्दा बढी खर्च गरिसकेका उनको आर्थिक अभावका कारण उपचार प्रभावित हुने भएपछि परिवारले सहयोग मागेको हो । दिल्लीमा उपचार गर्न तत्काल १५ लाखभन्दा बढी रकम आवश्यक पर्ने भएकाले सहयोग जुटाइदिन परिवारले आग्रह गरेपछि नेपाल पत्रकार महासंघले आर्थिक सहयोगका लागि अपिल गरेको छ । 

महासंघले आफ्ना सबै शाखा समिति, एसोसिएट संस्था र वैदेशिक शाखालाई सहयोगका लागि अनुरोध गरेको छ । त्यस्तै, महतको उपचारमा ठूलो धनराशी खर्च हुने भएकाले इच्छुक व्यक्तिले आर्थिक सहयोग गर्न पनि महासंघले भनेको छ । 

सहयोग गर्न चाहने इच्छुकले नेपाल एसबीआई बैंक लिमिटेडको चपुर रौतहट शाखामा रहेको पत्रकार महतकी पत्नि सुनन्दा कार्कीको बैंक खाता नम्बर २३९१५२४३४००२८८ मा रकम जम्मा गरिदिन सक्नेछन् । नेपाल पत्रकार महासंघको नबिल बैक, घण्टाघर शाखामा रहेको १६९०१०१७५००६३३ खातामा पनि रकम जम्मा गर्न सकिने जनाइएको छ । 

अन्नपूर्ण पोष्टका रौतहट संवाददातासमेत रहेका महत रौतहटको चन्द्रनिगापुरबाट सञ्चालक रेडियो सुप्रिम र कलमपाटी डटकम अनलाइन पत्रिकाका सञ्चालक पनि हुन् । एमाले निकट प्रेस चौतारी, मधेश प्रदेशका अध्यक्षसमेत रहेका उनी करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

टिप्पणीहरू