काठमाडौंका विभिन्न स्थानमा भोलि पाँच घण्टा बत्ती जाने

काठमाडौंका विभिन्न स्थानमा भोलि पाँच घण्टा बत्ती जाने

भोलि काठमाडौंका विभिन्न स्थानमा पाँच घण्टा बिजुली आपूर्ति बन्द गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले बिहान १० बजेदेखि दिँउसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी गराएको हो । 

प्राधिकरणको लप्सीफेदी तथा चाँगुनारायण सबस्टेशन निर्माण आयोजनाले आज सूचना जारी गर्दै स्युचाटार सबस्टेशनबाट आपूर्ति भइरहेको विद्युत बन्द गरिने जनाएको छ । स्युचाटार सबस्टेशनको विद्यमान १३२ केभी मुख्य बसावार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने भएकाले सेवा प्रभावित हुने आयोजनाको भनाइ छ ।  

‘प्रथम चरणको सबस्टेशन निर्माण कार्य सम्पन्न गर्न स्युचाटार सबस्टेशनको विद्यमान १३२ केभी मुख्य बसवार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने भएकाले स्युचाटार सबस्टेशनबाट आपूर्ति भइरहेको तलब उल्लेखित फिडरहरुमा विद्युत सेवा अवरुद्ध हुने व्यहोरा सम्पूर्ण महानुभावहरुलाई जानकारीका लागि अनुरोध छ’, जारी सूचनामा उल्लेख छ । 

आयोजनाका अनुसार सीतापाइला फिडरअन्तर्गत बाफल, बुढाथोकी कोल्डस्टोर, सिबिल होम्स, अलकत्रा, सरनपुर, थापाचोक, ह्वाइट गुम्बा, सिंगल ट्री, इचंगुनारायण मन्दिर क्षेत्रमा विद्युत आपूर्ति बन्द गरिनेछ । त्यस्तै, बाफल फिडरको बाफल, ज्ञानोदय, गाईबाच्छा पाटी, स्वयम्भु, सानो भर्याङ्ग, बारुदखाना, बलम्बु फिडरको बलम्बु, ढुंगेअड्डा, नैकाप, सतुङ्गल, बोसीगाउँमा बिजुली बन्द रहनेछ । 

खड्का गाउँ फिडरअन्तर्गत सालिक चोक, एल.आर.आई, न्यू डाइमण्ड, पुरानो नैकाप, फुटबल ग्राउण्ड, सिर्जना चोक, इन्द्रथान, गुर्जुधारा, हिल भिजन कोलोनी, हसनटार फिडरअन्तर्गत पार्टीचोक, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुंगा, छत्रे देउरालीमा बत्ती बन्द हुने आयोजनाले जानकारी दिएको छ । 

अन्य बत्ती जाने स्थानमा कालीमाटी फिडरको दुर्गा नगर, स्युचाटार पुल, मकालु पेट्रोल पम्प, शहीद अस्पताल, कालीमाटी, कंलकी फिडरको मालपोत, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर, लिक मार्ग, रोपवे फिडरको ट्याङ्लाफाँट, कीर्तिपुर बजार, मैत्रीनगर, बाघ भैरव, मन्दिर इलाका, पाङ्गा दोबाटो रहेका छन् । 

टेकु, बालाजुका साथै केटु र केथ्री सबस्टेशनबाट आपूर्ति हुने केही क्षेत्रमा पनि विद्युत प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।
 

टिप्पणीहरू