एनआरएनए अध्यक्ष कुल आचार्यको राहदानीमाथि परराष्ट्र र गृह मन्त्रालयमा उजुरी

एनआरएनए अध्यक्ष कुल आचार्यको राहदानीमाथि परराष्ट्र र गृह मन्त्रालयमा उजुरी
सुन्नुहोस्

गैरआवासीय नेपालीहरुको संस्था एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले एनआरएनए केन्द्रीय अध्यक्ष कुल आचार्यले बेलायती राहदानी हुँदाहुँदै किर्तेमा नेपाली राहदानी लिएको भन्दै परराष्ट्रमा उजुर हालेका छन् । केही दिनअघि सामाजिक सञ्जालबाटै आचार्यलाई कानूनी कठघरामा उभ्याउने चेतावनी दिएका गाहामगरले हिजो परराष्ट्रमा कारबाहीको माग गर्दै लिखित उजुर गरेका हुन् ।

वरिष्ठ अधिवक्ता र प्रहरी प्रशासनको सल्लाहबमोजिम शुरुमा परराष्ट्र मन्त्रालयमा उजुरी हालिएको गाहामगरले जनाएका छन् । उनले उजुरीको बोधार्थ गृह मन्त्रालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,जिल्ला प्रशासन कार्यालय,पर्वत र नेपाली राजदूतावास,लण्डनलाई पनि दिएका छन् । 

गाहामगरले अस्ति इन्टरपोल नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालका एसएसपी अनुपमसमशेर राणालाई भेटेर कारबाही प्रक्रियाबारे सल्लाह गरेको बताइन्छ । केही समयदेखि बेलायतमा बस्दै आएका गैरआवासीय नेपालीहरुले एनआरएनए बेलायतका पूर्व अध्यक्ष कुल आचार्यको नागरिकता एवम् राहदानीको विषयमा व्यापक चासो व्यक्त गरेका थिए । आफूलाई संघका २० हजार ७०७ पञ्जीकृत सदस्यहरुले यस विषयमा छानबिनका लागि उजुरी हाल्न दबाव र सल्लाह दिएबमोजिम गैरआवासीय नेपाली संघ बेलायतका वर्तमान अध्यक्षको हैसियतले उजुरी हालेको उनले जनाएका छन् ।

‘हामी बेलायतजस्तो सभ्य समाजमा रहेर मातृभूमिका लागि केही रचनात्मक कामसहित ज्ञान,सीप र पूंजी हस्तान्तरण गर्न कटिबद्ध हुनुपर्नेमा निज आचार्यले झन् उल्टो गैरकानूनी काम गरेर नेपाल र नेपालीकै इज्जतमाथि आँच पुर्याउनुभएपछि म यो उजुरी गर्न बाध्य भएँ’, उनको उजुरीमा लेखिएको छ ।   

बेलायती राहदानी साथमा हुँदाहुँदै  सन् २०१४ को जुलाई ०६ मा २४१८१६१ नम्बरको नेपाली राहदानी लिएका र नवीकरणपश्चात हाल ०७५८५०३९ नम्बरको नेपाली राहदानी बोक्ने गरेका उनलाई तत्कालिन नेपाली कार्यवाहक राजदूत तेजबहादुर छेत्रीले सन् २०१३ मा नेपाली एनआरएन कार्ड  बनाइदिएका थिए ।

गैरआवासीय नेपाली संघ केन्द्रका वर्तमान अध्यक्ष र बेलायतका पूर्वअध्यक्ष कुल आचार्य सन् २००२ मा जर्मनी हुँदै बेलायत प्रवेश गरी सन् २००६ मा बेलायती नागरिकको हैसियतले पहिलो पटक बेलायती राहदानी लिएको र तत् पश्चात सन् २०१२ र २०२२ मा राहदानी नवीकरण गरेको गाहामगरको उजुरीमा छ ।  

आचार्यको हालको राहदानी २७ सेप्टेम्बर २०२२ मा जारी भएको छ र उक्त राहदानी सन् २०३२ सेप्टेम्बर २७ सम्म बहाल हुने देखिन्छ । निजको हालको राहदानी नम्बर १२४७६११४० हो । आचार्य बेलायत गएपछि उनले नेपालको समेत राहदानी लिएको बताइएको छ । उनले नेपालको राहदानी (२४१८१६१) लिएको रेकर्डमा देखिन्छ भने उक्त राहदानी सन् २००४ डिसेम्बर १० सम्म बहाल थियो । उक्त राहदानी सन् २०१४ जुलाई ६ गते नवीकरण गरेर हाल निजसंग राहदानी नम्बर ०७५८५०३९ साथमा छ । 

नेपालको प्रचलित नेपाल नागरिकता ऐन २०६३ को दफा १० को उपदफा (१) मा नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन र दफा (१३) मा कसैले पनि एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन हुँदैन र बर्जित कार्य गरेमा दफा २१ बमोजिम समय हुने भन्ने उल्लेख छ ।

त्यसैगरी राहदानी ऐन २०७६ को दफा २१ बमोजिम झुट्टा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिएमा वा लिन प्रयत्न गरेमा कसूर गरेको मानिने व्यवस्था छ । त्यस्तो कार्य गर्नेलाई दफा २२ बमोजिम तोकिएको सजाय समेत हुने कानुनी प्रावधान पनि छ ।

‘निज कुल आचार्य सन् २००२ मा गैर कानूनी माध्यमबाट जर्मनी हुँदै बेलायत प्रवेश गर्नु भएको थियो । उहाँ सन् २००२ मा विदेश जाँदा भूटानी शरणार्थीको हैसियतमा जानु भयो । निजको राहदानी नवीकरणको निवेदन विवरण हेर्दा मिति २०४६।०२।२३ मा ५११४७५७ नम्बरको नेपाली नागरिकता जिल्ला प्रशासन कार्यालयबाट लिएको पुष्टि हुन्छ,’ उजुरीमा भनिएको छ ।

आचार्यले सन् २००२ मा बेलायत प्रवेश गरेपछि सन् २००६ मा पहिलोपटक बेलायती राहदानी लिएको रेकर्ड पाइएको दाबी छ । उक्त राहदानी सन् २०१२ सम्म बहाल थियो । राहदानीको म्याद सकिएपछि उनले पुनः नवीकरण गरे र अहिले उनीसँग भएको राहदानी नम्बर १२४७६११४० बेलायती रातो पासपोर्ट भएको प्रमाण परराष्ट्र मन्त्रालयमा बुझाइएको छ । 

सन् २०१२ देखि २०२२ सम्म बेलायती नागरिकको हैसियतले लिएको राहदानी बहाल रहेको बखत नेपाली नागरिकको हैसियतले झुट्टा विवरण व्यहोरा पेश गरी सन् २०१४ मा लण्डनबाट आवेदन दिई नेपालको राहदानी लिएको देखिएको उल्लेख गर्दै यस विषयमा छानबिन गरी आचार्यलाई प्रचलित नेपाल कानूनबमोजिम कारबाही गर्न अनुरोधसहित गाहामगरले उजुरी हालेका हुन् ।

आफु बेलायत फर्केपछि उताको अध्यागमनलाई पनि आचार्यविरुद्ध नक्कली भुटानी शरणार्थी बनेर ब्रिटिश सरकारसमक्ष किर्ते कागजात पेश गरेर बेलायती नागरिकता लिएको व्यहारो उल्लेख गरेर उजुर हाल्ने तयारी समेत उनको रहेको गाहामगर निकट एक जनाले बताए ।

टिप्पणीहरू