मेलम्चीमा आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड क्षतिग्रस्त

मेलम्चीमा आएको बाढीले  मेलम्ची–हेलम्बु सडकखण्ड क्षतिग्रस्त
सुन्नुहोस्

अस्तिदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढी आएको छ । बाढीले मेलम्ची–हेलम्बु जोड्ने सडकखण्ड क्षतिग्रस्त बनेको छ । विभिन्न ठाउँमा बाटो बन्द भएको छ भने पुल बगेको छ । 

बाढी पहिरोका कारण यातायात अवरुद्ध भएको हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्साल (लामिछाने) ले बताइन् । अधिकांश घर डुबानमा परेको उनले जानकारी दिइन् । उनका अनुसार ग्याल्थुम र ढुंग्रे बजार सबैभन्दा धेरै जोखिममा परेको छ । त्यहाँका स्थानीयलाई सुरक्षित ठाउँमा सार्ने तयारी भइरहेको उनको भनाइ छ । 

‘पहिरो गएको गयै छ । सबैतिर बाटो अवरुद्ध भएको छ । बाटोबाटै खोला बगिरहेको छ । थुप्रै घरहरु बाढीले भत्काइसकेको छ । खेतीयोग्य जमिन पनि कटान भएको छ । तत्काल बाटो खुल्ने अवस्था देखिँदैन् । अहिले पनि पानी परिरहेको छ । क्षतिको विवरण संकलन गर्न सकेका छैनौं’, उपाध्यक्ष लम्सालले भनिन् । 

वडा नम्बर ४ मा रहेको सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएको छ । विद्यालय नै जोखिममा परेपछि गाउँपालिकाले पठन–पाठन बन्द गराएको छ । हाल विद्यालयको सामान सार्ने कार्य भइरहेको छ । यता, बाटो नहुँदा बिरामीहरुलाई अस्पताल लैजान भने समस्या परेको छ ।
 

टिप्पणीहरू