कथा ओल्ड रिबेल कम्युनिष्टहरुको

कथा ओल्ड रिबेल कम्युनिष्टहरुको

मैले त्यो अंग्रेजी कविता पढेको त छैन । युवानेत्री मानुषी भट्टराईले केही दिनअघि एउटा कार्यक्रममा उल्लेख गरेको वल्र्ड रिबेल भन्ने अंग्रेजी कविताको शब्दले घोत्लिन बाध्य बनायो । सोभियत संघको विघटनलगत्तै रुसी कम्युनिष्ट पार्टीका सदस्य धमाधम बुर्जुवा पार्टीमा प्रवेश गरिरहेका थिए भने कतिपयले बुर्जुवा पार्टी नै खोलेर राजनीति थाले । आफ्नो विचारधारा परिवर्तन गरेर पुँजीवादी विचारधारा अँगाल्न पुगेका ती मानिसलाई पश्चिमा मिडियाले जहिल्यै पनि एक्स कम्युनिष्ट भनेरै संबोधन गरेको सुनिन्थ्यो, फलानो पार्टीको यो वा त्यो भनेको कहिल्यै सुनिएन । आज पनि एक्स कम्युनिष्ट नै भन्छन् । उनीहरूले नयाँ पहिचानलाई मान्यता दिएको पाइएन । किन यस्तो गरे होलान् ? सामान्यतया मान्छेले राजनीतिक विचारधारा बदल्दैन । किनभने विचारधारा आफैँमा ठूलो कुरा हो र त्यसप्रति पूर्णतः सहमत नभएसम्म कुनै पनि विचारधारा अँगालिँदैन, साधारण तरिकाले विचारधारा अपनाइन्न । विचारधाराअनुसार नै मान्छेको भविष्य बन्ने र बिग्रिने हुन्छ । विचारधारा बदलिनेहरू खासमा अवसरवादी भनेर मानिन्छन् । नयाँ विचारधारा अँगाले पनि उनीहरूले अर्को अवसर प्राप्त गर्दा फेरि विचारधारा बदल्न सक्छन्, यस्ताको भरोशा गर्नु ठीक होइन भन्ने मान्यताले हुन सक्छ जहिल्यै पुरानै विचारधारासँग जोडेर मात्रै संबोधन गर्ने । मलाई यस्तो भनेको सम्झिँदा अहिले पनि अचम्म लाग्छ । 

कम्युनिष्ट भनेर नाम चलेका नेता डाक्टर केशरजंग रायमाझी, कमलराज रेग्मी, राधाकृष्ण मैनाली, पिताम्बरध्वज खाती, देवीप्रसाद ओझा, गोरेबहादुर खपाङ्गी आदि आदि हुन् । यिनीहरू सबैजनानै आफ्नो राजनीतिक विचारधारा बदलेर राजतन्त्रात्मक बिचारधारा अँगाल्न पुगेका थिए । यिनीहरूले आफ्नो राजनीतिक जीवनमाथि नै प्रश्न उठ्नेगरी विचारधारा बदलेर नयाँ अँगाल्नुको एक मात्र कारण थियो तत्कालीन समयको सत्तामा सहभागिता । डाक्टर रायमाझी त जीवनको अन्तिम कालसम्म पनि राजासँगै रहिरहे । तर अरुमध्ये राधाकृष्ण मैनाली, देवीप्रसाद ओझाहरू भने राजा फालिएपछि राजालाई छोडेर फेरि पुरानै विचारधारामा फर्किएका छन् । जसरी रुसी नेताहरूलाई एक्स कम्युनिष्ट भन्थे अहिले यिनीहरूलाई मान्छेले राजावादी नै भन्छन्, एक्स राजावादी भन्दैनन् । समय र सन्दर्भ पर्दा यिनीहरूमाथि आन्दोलनलाई धोका दिएको, सत्ताको निम्ति विचारधारा फेरेको आरोप लागिरहन्छ र यो सुनेर यिनीहरू राता हुन्छन् । व्यक्तिगत हिसाबले एकापसमा जेजस्तो सुकै सम्बन्ध रहे पनि राजनीतिक तथा विचारधारात्मक हिसाबले भन्दा यिनीहरूले जनता र आन्दोलनलाई धोका दिएकै हुन् । 

पञ्चायती राजशाहीविरुद्ध लागेका सबै मान्छे एक प्रकारले रिबेल नै हुन् र त्यो रिबेलियनको नेतृत्व गर्ने मानिसहरू रिबेलका पनि रिबेल हुन् । घरबार छोडेर, ज्यानको माया मारेर राजाको शासनविरुद्ध हिँड्नु असाधारण कुरा थियो । किसान भेटे किसानलाई, गायक भेटे गायकलाई, बिद्यार्थी भेटे बिद्यार्थीलाई, मजदुर भेटे मजदुरलाई कन्भिन्स गरेर पञ्चायतविरुद्ध गोलबद्ध गर्दै तराई, पहाड र हिमालतिर हिँड्नु कम जोखिमपूर्ण थिएन । कस्तै कुराको पनि पर्वाह नगरी देश र जनताको मुक्तिका लागि भनेर हिँड्ने कुरा गौरवपूर्ण हो । यस्तै कुराले नै ती तमाम मानिसलाई गोलबद्ध गर्न सम्भव भएको थियो । अदम्य साहसबिना यस्तो काम गर्न असम्भव हुन्छ । अहिले हामीले जुन राजनीतिक, आर्थिक र सामाजिक परिवेश प्राप्त गरेका छौं त्यो सबै कुराको जस तिनै अदम्य साहसी रिबेल कमाण्डरहरूलाई जान्छ । तर हो यहीँनिर ‘तर’ भन्ने प्रश्न उभिन्छ । हामीलाई यो राजनीतिक अवस्था दिलाउन खटेर लागेका केही नेता दिवंगत हुनुभएको छ भने धेरै नेता जीवितै र हाम्रै माझमा सक्रिय हुनुहुन्छ । तर, के आजको नयाँ पुस्ताले, कलेज पढ्दै गरेका युवाहरूले हामीमाझ रहेका नेताहरूको अनुहारमा त्यो हिजोको रिबेल चरित्र पाउँछन् अथवा देख्छन् त ? यी नयाँको कुरा छोडौं, के दोस्रो र तेस्रो पुस्ताका हामीले नै पनि त्यो गुण देख्छौं त हाम्रा ती रिबेल नेताहरूको अनुहारमा ? अफ द रेकर्ड त देख्दैनौं । तर पब्लिकमा यस्तो भन्न धेरै कारणले रोक्छन् । 

अहिले हामी यही डरलाग्दो अवस्थामा छौँ । अहिले माधव नेपाललाई कसले रिबेल भन्छ ? ओलीलाई कसले रिबेल भन्छ ? प्रचण्डलाई पनि कसैले रिबेल भन्दैनन् । 

सबैभन्दा पहिले वामपन्थी आन्दोलनभित्र हिन्दुत्वलाई प्रवेश गराउने काम मोदनाथ प्रश्रितले बाग्लुङमा चरु होमेर गरेका थिए । उनको चरुहोम राजनीति अन्ततः गौंथलीको गुणमा पुगेर समाप्त भयो । अहिले कतै चर्चा सुनिन्न । राधाकृष्ण मैनालीहरूलाई त एक्स रिबेल पनि मान्न सकिन्न ।, कठोर शब्द प्रयोग नगरी नरम शब्द प्रयोग गरेर भन्दा उनीहरू धोकेवाज हुन् । हामीले अग्घोरै राम्रो भनेर मानेका मनमोहन अधिकारीले पनि बालुवाटार प्रवेश गर्दा कालो बोको काटेका थिए भन्ने सुनेको हुँ । यदि, होइन भने यस्तो भनेर लेखेकोमा म आत्मालोचना गर्दछु । आजको दिनमा हामीले हेर्ने भनेको प्रचण्ड, माधव र ओली कमरेडहरूको अनुहार हो । माधव नेपाल चर्च वा मठ मन्दिर धाएर पूजा अर्चना गर्दै हिँडेको देखिएको छैन । तर ओली र प्रचण्डको त कुरै गरिसाध्य छैन । यो त देखिने कुरा भए तर यसभन्दा डरलाग्दो कुरा के छ भने यिनीहरूले जे आदर्श कारण अघि सारेर देशको चारैचौरास घुमी मान्छेलाई संगठित गरेर एउटा जबर्जस्त आन्दोलनको निर्माण गरे र अन्ततः त्यही आन्दोलनकै जगमा राजाको शासनलाई पराजित गरे आज त्यो कारण प्रति कत्ति पनि लोयल देखिन्नन् ।

०६३ साललाई कट अफ डेट मान्ने हो भने पनि यी तीन नेताले कम्युनिष्टको नाममा सत्तामा बसेको सोह्र बर्ष नाघिसकेको छ । यो समय देश बिकास, बराबरी र सामाजिक न्यायको क्षेत्रमा मानक बन्ने किसिमको काम गर्न मनग्ये समय हो । तर, यिनीहरूको नेतृत्वमा यस क्षेत्रमा माखो मार्ने काम पनि भएन । बरु राजनीतिका लागि जीवन होइन, जीवनका लागि राजनीति हो भन्ने भाष्य तयार गरियो र राजनीतिमा रिबेल भनेर चिनिएका मान्छेहरू राजनीति बनाउन होइन कि जीवन बनाउनतिर लागे । यो समय यस्तो जनविरोधी समय पनि हो जुन बेला शिक्षा गरिबको पहुँचबाट टाढा पुग्यो । स्वास्थ्य गरिबको पहुँचभन्दा टाढा पुग्यो । नयाँ उद्योग, कलकारखाना एउटा पनि खुलेनन् । खेतीपाती महँगो भयो । चारैतिर कार्टेलिङमा काम हुन थाल्यो । बैंकले कार्टेलिङ गरेर ब्याज तोक्न थाले । भ्रष्टाचारले त लिमिट नै पार गरेको अवस्था छ । अदालत सबैभन्दा धेरै भ्रष्टाचार हुने अड्डा बनेको छ भनेपछि अरु निकायमा हालत कस्तो होला ! गर्दा–गर्दा नेतृत्वमा रहेकाहरू नै मान्छे तस्करी गर्ने काममा, सरकारी जग्गा हडप्ने काममा, सेटिङमा ठेक्कापट्टा हात पार्नेजस्ता अपराधपूर्ण काममा लाग्न थाले । आज देशमा सबैभन्दा खराब को हो भनेर सोधेमा धेरैको जवाफ हुनेछ सत्तामा बसेको राजनीतिक मान्छे र सरकारी कर्मचारी । देशको नेतृत्व गर्ने र सेवा डेलिभरी गर्ने अंग नै सबैभन्दा खराब भएपछि देशले गति लिने कुरै रहेन । अहिले हामी यही डरलाग्दो अवस्थामा छौँ । अहिले माधव नेपाललाई कसले रिबेल भन्छ ? ओलीलाई कसले रिबेल भन्छ ? प्रचण्डलाई पनि कसैले रिबेल भन्दैनन् । हो, उहाँहरू एक्स रिबेल हो तर आजको दिनमा रिबेल होइन । वल्ड रिबेल त झन् हुँदै होइन । 

अन्त्यमा,

जतिसुकै प्रयत्न गर्दा पनि अब रिबेलको उपाधि वापस हुनेवाला छैन । किनभने सबैको रिबेल चेहरामा गरिबको पहुँचबाट बाहिर रहेको शिक्षा, स्वास्थ्य, कृषि र रोजगारको अवस्थाले कालो पोतिसकेको छ । यदि, कहीँ–कतै अलिअलि रहेको रिबेल चरित्र थियो भने पनि महाकालेश्वरमा धारण गरेको गेरुबस्त्र तथा पशुपतिमा सुनको जलहरी तथा डोलेश्वर महादेवको आँगनमा सन्ध्या आरतीले छोपिदिएको छ । कतिपय सन्दर्भमा केही नहुने काम भएको छ भने सबैले देख्ने, सुन्ने गरेर प्रायश्चित गर्ने गरिन्छ । अतः यी एक्स रिबेलहरूले पनि दोस्रो वा तेस्रो पुस्तामा नेतृत्वको हस्तान्तरण गरेर प्रायश्चित गर्न सक्छन् । यस्तो गर्ने अदम्य साहस देखाउने हो भने नयाँ रिबेलहरूले आफ्नो रिबेल छविलाई बचाउन सक्नेछन् भने सिंगो आन्दोलन पनि एकीकृत र मजबुत हुँदै जानेछ ।
 

टिप्पणीहरू