कसले चलाइरहेछ प्रधानमन्त्रीलाई ?

कसले चलाइरहेछ प्रधानमन्त्रीलाई ?
सुन्नुहोस्

प्रधानमन्त्री हुनेबित्तिकै समृद्धिको भाषण गर्न थाले । तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले यो कार्यकालमा भाषणलाई भन्दा कामलाई आफूले प्राथमिकता दिने सार्वजनिक घोषणा गरे । प्रधानमन्त्री बनेपछि हरेकजसो सार्वजनिक कार्यक्रममा भन्छन्– ‘म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन, यो कार्यकालमा भाषण कम, काम धेरै र जनताको सेवा गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु ।’

तर, प्रधानमन्त्रीको कथनी र करनी फिटिक्कै मिलिरहेको छैन । प्रधानमन्त्री भन्छन् एउटा, गर्छन् अर्को । यसको पछिल्लो उदाहरण हेर्न धेरै टाढा जानै पर्दैन । प्रचण्डले गत शनिवार एउटा मनोरञ्जनात्मक कार्यक्रममा ५ घण्टा बिताए । ढुक्कले । शोक न सुर्ता, भोक न भकारी शैलीमा । काठमाडौंमा भएको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको ग्राण्ड फिनालेमा परराष्ट्रमन्त्री एनपी साउद र नेता–कार्यकर्तासहित पुगेका प्रचण्डले कार्यक्रम अवधिभर सभामुख देवराज घिमिरे र आयोजक इन्ट्रा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको बीचमा बसेर पूरै मनोरञ्जन लिए । प्रधानमन्त्री सहभागी कार्यक्रम आफैंमा विवादित कार्यक्रम हो । यतिसम्म कि आयोजकले नेपालीलाई नै विभिन्न प्रलोभन दिएर ठगी गरेको निवेदन प्रधानमन्त्री कार्यालयमै दर्ता भएको छ । तर, देशको कार्यकारी प्रमुख प्रधानमन्त्री भने त्यही विवादित कार्यक्रममा घण्टौँ बसिरहे । संसदमा जारी गतिरोध, गठबन्धनभित्रकै उतार चढाव अनि जनजीविकासँग जोडिएका कैयौँ मुद्दा छन् भन्ने प्रधानमन्त्रीले चटक्कै बिर्सिए ।

यो बीचमा बाढीपहिरोले देशलाई दुःख दियो । कर्णालीका दुई जिल्लाबाहेक ७५ जिल्लामा डेंगुको संक्रमण फैलियो । १० जनाको मृत्यु भएको र १५ हजारभन्दा धेरैमा संक्रमण भएको सरकारकै तथ्यांक छ । धरानमा मात्रै ११ जनाको मृत्यु भइसकेको समाचार सार्वजनिक भएका छन् । देशभर लम्पी स्किन रोगबाट हजारौं पशु मरे । पशु मरेसँगै धेरै किसानको गरी खाने मेलो सकियो । राष्ट्र बैंककै तथ्यांक हेर्ने हो भने महँगी अचाक्ली बढेको छ । तर, व्यवहारमा राष्ट्र बैंकले भनेको भन्दा कैयौं गुणा महँगी बढी रहेको अरु तथ्यांक छ । तर, प्रधानमन्त्रीलाई यी कुराले पटक्कै छोएको देखिँदैन । 

शनिवारको दिन प्रधानमन्त्रीले बिदा मनाउन रियालिटी शो हेरे भनेर चित्त बुझाउने ठाउँ पनि छैन । शनिवार एक दिन मात्र होइन, प्रधानमन्त्री लगभग सातै दिन फुर्सदमै भएजस्तो देखिन्छ । साउन १० गतेयताका प्रधानमन्त्रीको गतिविधि हेर्दा पनि नेपालको कार्यकारी प्रमुख कसरी यतिधेरै फुर्सदमा हुन सकेका भनेर अचम्म मान्नुपर्ने अवस्था छ । साउन १२ यताका प्रधानमन्त्री प्रचण्डका गतिविधि एक पटक हेरौं । 

साउन १२ गते– रोमको खाद्य कार्यक्रममा नेपालको सहभागिता 
साउन १४  गते– वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘माधव सर’ पुस्तक लोकार्पण 

साउन १४ गते– समाजवादी मोर्चाका विद्यार्थी संगठनको मोर्चा घोषणा कार्यक्रम 
साउन १५ गते– पशुमा देखिने रोगबारे छलफल कार्यक्रम
साउन १६ गते– सुदूरपश्चिम विश्वविद्यालयको एघारौँ सभा 
साउन १७ गते– राष्ट्रिय योजना आयोगको बैठक
साउन १७ गते– पार्टी केन्द्रीय समितिको चौथो पूर्णबैठक
साउन १९ गते– मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक
साउन २४ गते– २९औँ आदिवासी दिवसको अवसरमा आयोजित सभा 
साउन २५ गते– प्रधानमन्त्री र संघीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता बैठक
साउन २६ गते– स्वास्थ्यमन्त्री मोहन बस्नेतको एक सय दिनको उपलब्धि सार्वजनिक कार्यक्रम 
साउन २६ गते– श्रम बजार मर्यादित र सुरक्षित बनाउन छलफल
साउन २९ गते– पार्टीको बागमती प्रदेश समितिको पाँचौँ पूर्ण बैठक
साउन ३० गते –काठमाडौँ उपत्यकामा सुकुम्बासी व्यवस्थापनसम्बन्धी बैठक
साउन ३० गते– सम्पादकहरूसँग छलफल
साउन ३१ गते– अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोह
साउन ३१ गते–विमानस्थलको सुरक्षा प्रबन्धबारे छलफल
साउन ३२ गते– २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभा
भदौ १ गते– नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोह 
भदौ २ गते– रियालिटी शो विजेता घोषणा समारोह 

यी कार्यक्रम हेर्ने हो भने देशको कार्यकारी प्रमुखको हैसियतमा सहभागी हुनुपर्ने कार्यक्रम जम्मा ५ वटा देखिन्छन् । त्यसबाहेक घण्टौँ समय बिताएका १६ वटा कार्यक्रम प्रधानमन्त्रीकै उपस्थिति हुनुपर्ने खालका थिएनन् । त्यसो त मन्त्रीस्तरीय सहभागिता भए पनि हुने एक कार्यक्रममा सहभागी हुन प्रचण्ड साउन पहिलो साता इटली पुगे । प्रधानमन्त्री भदौको अन्तिम साता अमेरिका र त्यतैबाट चीन जाने तयारी भइरहेको छ । यी भ्रमण प्रधानमन्त्रीको घुमफिरमा सीमित हुने खतरा छ । मुलुकका सयौँ समस्या अनदेखा गरेर कहिले देशभित्रै र कहिले देशबाहिरको ताउरमाउरमा समय बिताइरहने प्रधानमन्त्रीलाई आमनागरिकको प्रश्न छ, अघिल्ला दुई कार्यकालमा सिक्न पाएँ, अब गर्छु भनेको कामचाहिँ के थियो, एकपटक सम्झिने हो कि ?
 

टिप्पणीहरू