मनिषाको कति कमलो मन
– ईश्वरी राई (इशु)
०७२ सालको भुइँचालोपछि हेटौंडा पुगिन्, गोरखाकी मनीषा केसी । गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको त्रासबाट बच्नका लागि उनी दाइको साथमा त्यता पुगेकी थिइन् । जन्मथलो छाडेर नयाँ शहर जाने पक्षमा थिइनन् तर आमाबुबाकै सल्लाहमा मकवानपुरको ‘मानवसेवा आश्रम’ पुगिन् ।
सानैदेखि परिवारबाट टाढिएर मानवसेवी बनेका दाइ त्यही आश्रममा आबद्ध थिए । मनीषा पनि त्यहीं बस्न थालिन् । पहिलोपटक आश्रम पुगेकी उनी जथाभावी फोहोर देखेर आजित भएकी थिइन् तर पछि मनोरोगी बा–आमाले जथाभावी गरेको दिसापिसाब घीन नमानेर सोहोरिन् । त्यति मात्र होइन, कैयौँपटक कुटाइ पनि खाइन् । तैपनि, जसोतसो सहेरै बसिन् ।
आश्रममा आएर कहिल्यै गर्नु नपरेको संघर्ष र दुःखबाट दिक्दार बनेकी उनले धेरै पटक भाग्ने योजना बुनिन् । तर, आश्रमका भाइबहिनीसँगको लगावका कारण त्यो ठाउँ छाड्न सकिनन् । भन्छिन्, ‘म साना केटाकेटीसँग छिट्टै घुलमिल हुन्छु । त्यसैले मलाई भाइबहिनीसँग छुट्न मन मानेन ।’
आफूभन्दा साना केटाकेटीको मायाले आश्रममा बाँधिएकी उनी आफूसँगै भाइबहिनीलाई पनि स्कूल लैजान्थिन् र गृहकार्य गर्नमा सघाउँथिन् । आश्रम बस्न थालेको महिना दिनपछि उनमा पनि सोच आयो मानव सेवी बन्ने ।
१५ वर्षको उमेरदेखि नै मानवसेवा गर्ने लक्ष्य लिएकी उनले आफ्नो मनमा सजाएको योजना घरमा सुनाइन् । तर उनको प्रस्ताव घरबाट अस्वीकार भयो । ‘दाइ घरबाट टाढा बसेर सेवामा हुनुहुन्थ्यो, कान्छी छोरी पनि टाढिन्छ भन्ने डरले मलाई आश्रममा बसेर सेवा गर्ने अनुमति दिनुभएन’, उनी भन्छिन्, ‘दिदीले पनि विवाह गरिसक्नुभएको थियो । उहाँहरूको साथी कोही थिएन । त्यसैले मलाई घर बोलाउनुभयो ।’
पत्रकार बन्न चाहन्थिन् उनी तर बनिन् मानवसेवी । गोरखामा २०५७ सालमा जन्मिएकी मनीषा केसी परिवारकी कान्छी छोरी थिइन् । एक दाइ र दिदी छन् । घरकी सानी भएकै कारण पुल्पुलिएर हुर्किइन् । घरको सारा काम आमा र दिदीले गर्थे । उनको काम भनेको मात्र अध्ययन थियो ।
पत्रकार बन्ने हुट्हुटी लिएकी उनले पत्रकारिता विषय लिएर पढिन् तर पत्रकार बन्न सकिनन् । सानो छँदा पत्रकार बन्ने देखेको सपना ठूली भएसँगै हराउँदै गयो । जसको कारण थियो, मानवीय स्वभाव । ‘पत्रकार बन्ने मेरो सानैदेखिको सपना थियो तर बन्न सकिनँ । पत्रकार नबने पनि असल मानव बन्न सफल भएकी छु’, उनले भनिन्, ‘मलाई मानव विश्वविद्यालयमा पढ्ने सौभाग्य मिलेको छ ।’
पाँच वर्ष हेटौंडाको मानवसेवा आश्रममा बिताएकी उनी अहिले काठमाडौंको रानीवन शाखामा बसेर दुई सय जना बा–आमाको सेवामा दिनरात लागिपरिरहेकी छन् । २०७७ सालमा राजधानी छिरेकी उनी भन्छिन्, ‘चितवन र सर्लाहीको शाखा पनि गएँ, त्यसपछि काठमाडौं आएँ ।’
टिप्पणीहरू