माधव नेपालको प्रश्न : चुच्चे नक्साबारे विश्व समुदायलाई किन जानकारी नगराएको ?

माधव नेपालको प्रश्न : चुच्चे नक्साबारे विश्व समुदायलाई किन जानकारी नगराएको ?

भारतीय अतिक्रमणमा परेका नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी भएको नेपालको नयाँ राजनीतिक नक्साबारे अन्तराष्ट्रिय समुदायलाई औपचारिक जानकारी नगराइएको विषय संसदीय समितिको बैठकमा उठेको छ । 

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले नयाँ नक्साबारे विश्वलाई जानकारी गराइयो कि गराइएन भन्दै प्रश्न गर्नुभएको हो । नक्सा जारी भएपछि अन्तराष्ट्रिय जगतलाई जानकारी गराउनुपर्ने पनि उहाँको भनाई छ ।  

'संसदबाट पारित भई जारी भएको नक्साबारे विश्वलाई लिखित रूपमा चिठी पठाइयो कि पठाइएन ?', अध्यक्ष नेपालको प्रश्न छ । 

केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सरकारले उक्त नक्सा जारी गरेको थियो । तर, चीनले हालै जारी गरेको उसको नयाँ नक्सामा नेपालको पुरानै नक्सा देखाइएपछि नेपालमा विरोध भैरहेको छ । 

यसबारे सरोकारवालाहरुले सरकारको धारणा मागेपछि  परराष्ट्र मन्त्री एनपी साउदले तत्कालिन सरकारले नयाँ नक्सा जारी गरेको औपचारिक जानकारी मित्र राष्ट्रहरुलाई नगराएको बताएका थिए । त्यसप्रति संसदीय समितिको बैठकमा कुरा उठेको हो ।

टिप्पणीहरू