बस दुर्घटनाका घाइते २९ जनाको कोहलपुरमा उपचार जारी

बस दुर्घटनाका घाइते २९ जनाको कोहलपुरमा उपचार जारी

हिजो राति बाँकेको शम्शेरगञ्ज नजिकै पूर्व–पश्चिम राजमार्गमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइते सबैको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

राजमार्गमा रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा सवार ४१ जनामध्ये दुई जना गम्भीर, १२ जना मध्यम, १५ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अन्य पाँच जना सकुशल छन् । 

दुर्घटनामा घाइते भएकाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका ठाकुरबाबा ९ का बलबहादुर थारु र रामु थारुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको आइसीयुमा उपचार भइरहेको छ । टाउकोमा चोट लागेका सरस्वती थापा र महिनबहादुर थारुको पनि सोही नेपालगञ्जमा उपचार भइरहेको छ ।

दुर्घटनामा बारबर्दिया नगरपालिका ७ रम्मापुरका ३४ वर्षीय वसन्त कार्की, ठाकुरबाबा–९ की ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीय काँशीराम थारू, ५० वर्षीया रूपा परियार, ३५ वर्षीया जयन्ती थारू, ६५ वर्षीय साधुराम चौधरी, ठाकुरबाबा–८ का बस चालक ४५ वर्षीय जुबहादुर चन्दको निधन भएको छ । 

दाङबाट बर्दिया जाँदै गरेको ना.७ ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी ८ शम्शेरगन्ज नजिक बिग्रेर सडक छेउमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग शुक्रबार राति ठोक्किँदा बसमा सवार ४१ जनामध्ये चार पुरुष र तीन महिलाको मृत्यु भएको हो ।

ठाकुरबाबा नगरपालिका वडा ९ को बेतहनी सामुदायिक वन समितिको पदाधिकारी सहितको भ्रमण टोली दाङको धारापानी पुगेर बर्दिया फर्किने क्रममा दुर्घटनामा परेको थियो ।

टिप्पणीहरू