सिंहदरबारमा आगो सल्काउने बालेनको धम्कीबारे सिंहदरवारकै मन्त्रीहरु मौन

सिंहदरबारमा आगो सल्काउने बालेनको धम्कीबारे सिंहदरवारकै मन्त्रीहरु मौन
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गत साता मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाउने धम्की दिए । गत शुक्रबारदेखि सर्लाहीमा दुई धार्मिक सम्प्रदायबीच भिडन्त भएपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञा आदेश जारी गर्यो । उता,धरानका मेयर हर्क साम्पाङको उत्तेजक प्रतिक्रिया र गाई काटिएको विषयले सुनसरी पनि एक साता बढी तात्यो । 

स्थानीय प्रशासन र स्थानीय तहले सामान्य धारणा,आदेश दिए पनि संघीय सरकारले ती घटनामा कुनै प्रतिक्रिया जनाएको देखिएन । किन यस्तो भएको होला ? भनेर जनआस्थाले एक जना मन्त्रीलाई सोधेको थियो । उनले भने, ‘यस्तो विषयमा क्याबिनेटमा सिरियस छलफल हुने गरेको छ तर कार्यान्वयनबारे केही बोलिँदैन । बालेनबारे पनि क्याबिनेटमा सामान्य ढंगले कुरोसम्म उठेको छ ।’

कुरो उठाउने तर कार्यान्वयनको निम्ति कुनै आदेश वा निर्देशन नदिने हो भने क्याबिनेटको औचित्य कसरी प्रमाणित हुन्छ ? अर्का एक जना मन्त्रीले भने, ‘राजधानीको फोहोर नउठेको र नउठाइएको बारेचाहिँ  छलफल भयो  । नेताहरुलाई सिसडोलमा गाड्ने बालेनको चर्को अभिव्यक्तिबारे पनि क्याबिनेटमा कुरा उठ्यो । तर, ठोस निर्णय गरिएन ।’ 

क्याबिनेटमा भन्दा सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठकमा बालेन, हर्क साम्पाङ र सर्लाही काण्डबारे कुराकानी भएको नेपाली काँग्रेसका एक जना नेताले बताए । ‘के भयो भन्नेबारे थाहा भएन ।
तर, केही समयअघि क्याबिनेटमा फोहोर व्यवस्थापनबारे कुरा उठेको थियो । जे मनलाग्यो त्यही बोल्न नपाइने विषयमा उहाँहरु सहमत हुनुहुन्छ,’ ती नेताको भनाई छ ।

पछिल्लो समय व्यापक चर्चामा आएको सुन काण्ड,नक्कली भुटानी शरणार्थी काण्डबारे भने क्याबिनेटमा कुनै छलफल नभएको बताइन्छ । 

यसैबीच प्रधानमन्त्रीले आगामी महिना गर्न लाग्नुभएको मित्रराष्ट्र चीनको भ्रमणबारे क्याबिनेट बैठकमा हालसम्म कुनै एजेण्डा नलगिएको स्रोतको दाबी छ । भ्रमणको क्रममा चीनबाट प्राप्त हुने आर्थिक सहयोगबारे खास एजेण्डामाथि सरकारले औपचारिक छलफल गरेको छैन ।

‘अनौपचारिक रुपमा विकास निर्माणबारे कुरो हुने बताइएको छ । चीनले ठोस रुपमा हिल्सा–सिमकोट सडकलाई सहयोग गर्ने वचन दिइसकेको बुझिएको छ । अन्य विकास निर्माणबारे थप छलफल गरौं भन्ने चीनको भनाई छ । नेपालले यसअघि गरेको प्रस्तावमा सकारात्मक जवाफ दिएको बताइएको छ,’ एक जना मन्त्रीले भने ।

 

टिप्पणीहरू