अलबिदा मौन विद्रोही कमरेड !
एकाबिहानै सामाजिक सञ्जालमा अपत्यारिलो त नभनौं किनभने मृत्युको कुनै निर्धारित समय हुन्न एउटा दुःखद् समाचार पढ्नु पर्यो।त्यो दुखद समाचार थियो सुवासचन्द्र नेम्वाङको हृदयघातबाट भएको मृत्युको खबर । खबर पढेर दुख त लाग्यो नै तर तत्कालै मनले भन्यो एमाले भित्रको आपसी द्वन्दले यिनलाई हृदयघातको सिकार बनायो । यो कुराले झन दुखि बनायो मलाई । यी नेता अत्यन्तै नरम स्वभावका र स्वाभिमान भएका नेता हुन्।बोलीवचनबाट यिनले कसैलाई पिरेको वा कसैको मन दुखाएको कसैलाई थाहा छैन। अरुलाई तँ, तिमी, तपाईं हजुर होइन कि हामी भनेर सम्बोधन गर्ने नम्र मिजाजका यी नेता आज पार्टीभित्रको द्वन्द्वको सिकार हुनपुगे भनेर भन्दा कुनै अतिशयोक्ति नहोला ।
पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संसद विघटनको कार्यप्रति धेरैलाई आश्चर्यचकित तुल्याएको थियो यिनको मौनताले । संसद विघटनको सवालमा एक शब्द पनि नबोर यिनले मान्छेको मनमा धेरै ठुलो आशंका पैदा गरिदिएका थिए । ओलीको संसद विघटनगर्ने कार्य संवैधानिक थियो या असंवैधानिक के थियो भन्ने बारेमा सर्वोच्च अदालतको फैसला नआउञ्जेलसम्म यी नेताले केही पनि बोलेनन्। सर्वोच्च अदालतको निर्णय पश्चात् पनि यिनले समर्थनमा खासै धेरै पनि बोलेनन् । धेरै मान्छेहरुले यिनलाई उक्त विषयमा स्पष्टताका साथ मुख नखोलेकोमा धेरै आलोचना पनि गरे । संविधानले संसद विघटनको परिकल्पना नगरेको कुरा पटकपटक र धेरै ठाउँमा बयान दिँदै हिँडेर पनि संसद विघटन हुँदा चुँसम्म नगर्दा आलोचना हुनु स्वाभाविक पनि हो । किन यस्तो गरे होलान् भनेर धेरैले भेउ पाउन सकेनन् । उनले पार्टीमा अथवा सरकारमा जिम्मेवारी पाउने लोभमा परेर मौन बसेका थिए भनेर मान्न सकिन्न ।
यिनलाई प्रधानमन्त्री बनाएर जाँदा पार्टीमा बढिरहेको आन्तरिक झगडा पनि सकिने र पार्टीलाई विभाजन हुनबाट पनि रोक्न सकिन्छ भनेर यिनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अध्यक्षसमक्ष गएको पनि थियो । तर ओलीले झगडा पनि मिल्ने र पार्टी पनि एक रहने यस्तो फर्मुलालाई ठाडै अस्वीकार गरेका थिए । ओलीबाट कुनै पद नपाइने कुराप्रति यिनमा कुनै शंका पनि थिएन सायद । र साथसाथै संविधानसभाको अध्यक्ष तथा सरकारमा मन्त्रीसमेत भइसकेका यिनलाई पदप्रति उतिसाह्रो आशक्ति पनि नभएको हुनुपर्छ ।
आखिर किन मौन बसेका रहेछन् त ? संसदको विघटन गर्ने काम असंवैधानिक थियो भन्ने कुरामा अस्पष्टता रहेर त्यसप्रति नबोलेका थिएनन् पक्कै पनि । बरु नबोलेरै, मौन बसरै यिनले त्यसको बिरोध गरेका रहेछन् भन्छु म त। संवैधानिक कानुनका ज्ञाता यिनलाई थाहा थियोे ओलीको कदमको पक्षमा बोलेर संविधानको भावना, मर्म र उद्देश्यको विरुद्धमा उभिनु कतै उचित थिएन । यदि यस्तो गरेको भए उनीमाथि संविधानको ज्ञाताद्वारा संविधानको धज्जी उडाएको झन् ठूलो आरोप लाग्नसक्ने थियोे ।
मलाई लाग्छ यिनले ओलीको संसद विघटन गर्ने कामको विषयमा नबोलेर समर्थन होइन कि विरोध नै गरेका थिए । मृत्युवरण गर्नुअघिसम्म पनि यिनले ओलीको नेतृत्व शैलीको मौन रहेरै विरोध गरिरहे भन्ने लाग्छ मलाई । केही दिन पहिले एउटा सर्वदलीय बैठकमा ओलीले यिनलाई सबैका सामु अपमानित हुनेगरि हप्काएका थिए कि मानौं यिनी ओलीका स्वकिय सचिव हुन् । विषय सायद संसद अवरुद्धगर्ने कुरामा एमालेले अडान लिएको मुद्दा ठिक थिएन, संसद चालू राख्नुपर्छ भन्ने थियो । उनीमाथि भएको त्यो हप्किदप्की समितिले तयार पारेको प्रतिवेदनमा प्रयुक्त भाषा ओलीको आशय व्यक्त गर्ने किसिमको भाषा नभएको अर्थात सुवासचन्द्र नेम्वाङको भाषाज्ञानप्रति थियोे ।
हुन त नेम्वाङले पनि राम्रो जवाफ फर्काएर ओलीको तानाशाही रवैयाको तत्कालै प्रतिवाद नगरेका होइनन् । यो घटनालाई हेर्दा के देखिन्छ भने एमाले पार्टीभित्र पार्टी सञ्चालनलाई लिएर असामान्य किसिमको द्वन्द्व छ र यो भुसको आगोझैँ भित्रभित्रै सल्किरहेको कुराको अनुमान गर्न मुश्किल छैन । अरु नेताहरुले पनि बिस्तारै मुख खोल्न शुरु गरेका छन् । लुम्बिनी प्रदेशको अध्यक्षको चुनावले अब डिक्टेट गरेर शासन चलाउन नसकिनेतिर नै संकेत गरेको छ ।
अन्त्यमा,
सबैको नजरमा असल भनेर चिनिएका नेता जो आफ्नै अध्यक्षको असहमतिको कारणले देशको प्रधानमन्त्री बन्नबाट बञ्चित पारिए । तिनै नेता अव्यक्त द्वन्द्वको दबाबले हृदयाघातको सिकार भएर यो धरतीबाट बिदा लिए । अलबिदा मौन विद्रोही कमरेड !!!
टिप्पणीहरू