चिनियाँ नेत्री बिशेष भेटघाटमा ब्यस्त

चिनियाँ नेत्री बिशेष भेटघाटमा ब्यस्त
सुन्नुहोस्

राष्ट्रपति सि चिनफिङको उदयसँगै छिमेकलाई उच्च प्राथमिकता दिने नीति लिएको चीनले नेपालमा एकपछि अर्को उच्चस्तरीय टोलीको भ्रमण गराइरहेको छ । 

नेपालमा एमसिसी पारित भएपछि अमेरिकी अधिकारीहरुको आगमन बढिरहँदा चिनियाँ नेताहरुको काठमाडौँ भ्रमण बाक्लिएको हो । चार वर्षअघि राष्ट्रपति सिको भ्रमणयता दर्जनौँ उच्च तहका चिनियाँ नेताहरु काठमाडौँ ओर्लिएका छन् ।

यसैबीच चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को युन्नान प्रान्तीय स्थायी समिति सदस्य चंग यान नेतृत्वको उच्चस्तरीय राजनीतिक टोली काठमाडौँ आइपुगेको छ । युन्नान प्रान्तको पार्टी प्रचार विभाग प्रमुखसमेत रहेकी यान नेतृत्वको ९ सदस्यीय टोली आज बिहान सवा ११ बजे छङ्तु हुँदै काठमाडौँ ओर्लिएको हो । 

काठमाडौँ उत्रेलगत्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटवार्ता गरेको टोली साँझ ठमेलको व्यापारिक क्षेत्रको निरीक्षणमा निस्किएको छ । भोलि बिहान भक्तपुर दरबार स्क्वायर घुमेर दिउँसो २ बजे सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग भेटवार्ता गर्नेछ । 

पर्सि बुधबार नेपाल टेलिभिजनको अवलोकन भ्रमण गरेर यान नेतृत्वको चिनियाँ टोली राती सिंगापुर हुँदै स्वदेश फर्कने कार्यक्रम छ । 

नेपालको जस्तै सांस्कृतिक विविधता रहेको युन्नानको राजधानी कुन्मिङ चीनका लागि दक्षिण एसियाली मुलुकहरुसँग सम्पर्क स्थापित गर्ने हब मानिन्छ । भियतनाम,लाओस,थाइल्याण्ड, कम्बोडिया,म्यान्मार,बंगलादेश र नेपाललाई प्रान्तीय सरकारले विशेष महत्व दिंदै आएको छ । सोही प्रान्तकी पार्टी नेत्रीको नेपाल आगमनले दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास लिइएको छ । 

खासगरी नेपालसँग पर्यटन प्रवर्धन र सिधा हवाई सम्पर्क स्थापित गराउन पहल गरिरहेको युन्नान सरकारले उच्च तहको भ्रमण गराउनुलाई चासोका साथ हेरिएको छ । गत जुन १४ मा कुन्मिङबाट काठमाडौँ सिधा हवाई उडान भएकोमा त्यसलाई निरन्तरता दिनेबारे चिनियाँ भ्रमण टोलीले सरकारी अधिकारीसँग छलफल गर्नसक्ने बुझिएको छ । 

चिनियाँ पाहुनाको सत्कार र सुरक्षालाई सरकारले समेत विशेष महत्व दिएको छ ।

टिप्पणीहरू