दुर्गमका असहाय बालबालिकाको सहारा बन्दै चिसापानीको बालगृह
बाँकेको बैजनाथ गाउँपालिका १, मा लामो समयदेखि बहिरा अपांग बालगृह सञ्चालनमा छ । रेरी नामक गैरसरकारी संस्थाले सात वर्षदेखि सञ्चालन गरेको उक्त गृहलाई थप व्यवस्थित बनाइएको बताइएको छ ।
हाल ४४ जना बहिराहरु बालगृहमा आश्रित छन् । त्यहाँ रहेका २२ बालक र २२ बालिका (केही युवक) हरु बाँके, बर्दिया, सल्यान, जाजरकोट, दैलेख, मुगु र अछामका हुन् ।
संस्थाका अध्यक्ष पुनित विक्रम शाहका अनुसार तीमध्ये ७ वर्षदेखि २२ वर्ष उमेरका छन् । वडा कार्यालयको सिफारिस, अभिभावकको अनुमतिमा गृहमा राख्ने गरिएको उनले जानकारी दिए ।
बालगृहमा चार जना केयर टेकर, चार जना शिक्षक, एक जना स्टाफ नर्स, एक जना खेल शिक्षक, एक जना मार्शल आर्ट शिक्षक, एक जना गाडी चालक, एक जना हेल्पर र एक जना दोभाषे गरि १६ जना कर्मचारी छन् । नेपाल सरकार, बि योन द अर्फानिस अष्ट्रेलियन एड र किन्डर लाइफ नेपालको सहयोग प्राप्त भएको जनाइएको छ ।
प्रतिमहिना चार हजार रुपैयाँका दरले १० महिनाको ४० हजार नेपाल सरकारले पालिका मार्फत् बहिरा बालबालिकालाई उपलब्ध गराउँदै आएको छ । बालगृहमा रहेका बालबालिकाहरु कक्षा १ देखि ८ सम्म दहित आधारभूत विद्यालय च्यामामा र कक्षा ९ देखि १० सम्म सूर्याेदय मावि चिसापानीमा अध्ययनरत छन् ।
बालगृहमा रहेका उनीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउने गरिएको छ । हाल सम्म २५६ जना बालबालिकाले उक्त गृहको सेवा लिइसकेको संस्थाले जनाएको छ ।
संस्थाले सांकेतिक भाषा सिकाउने र बालबालिकालाई साक्षर बनाउने लक्ष्यका साथ गृह सञ्चालन गरेको छ । एसईई उतीर्ण बालबालिकाहरुलाई रुची अनुसारका सिपमूलक तालिम प्रदान गर्ने गरिएको छ ।
पूर्ण साक्षर बालबालिकालाई संस्थाले समुदायमा पुनस्र्थापना गराउने नीति लिएको छ । बहिरा बालबालिकाहरुको विषयमा राज्य गम्भीर नभएको अध्यक्ष शाहको भनाई छ । छात्रवृत्ति प्राप्तीका लागि संस्थाले गरेको पहलमा सफलता मिलेको उनी बताउँछन् ।
टिप्पणीहरू